कोरोना कहरमा प्रसूती सेवाका चुनौती  र अपनाउनु पर्ने सावधानी

बच्चा झुण्डाइएकै अवस्थामा दर्दनाक पीडाका साथ ति महिला अस्पताल आईपुगेकी थिइन् । चिकित्सक र नर्सिङ स्टाफ संयुक्त प्रयासबाट बच्चा निकाल्न त सफल भए तर बच्चाको ज्यान जोगाउन भने सकेनन्।


    • वसुन्धरा ज्ञवाली

  • ३० श्रावण २०७८, शनिबार

घटना–१

मिति – २०७८ बैशाख १०।

समय – दिउसको दुई बजे ।

आफ्नो नियमित ड्युटी गर्न म प्रसूतिकक्षमा प्रवेश गरे । प्रसूतिकक्ष महिलाका अस्वभाविक चित्कारले सधैं गुञ्जयमान भइरहेको हुन्छ । व्यथाले च्यापेका उनीहरुको विरक्त चिच्याहट बाहिरसम्म सुनिन्छ । तर त्यो दिन भने प्रसूतीकक्ष सुनसान थियो । सिस्टरहरु पनि मौन । पुरै सन्नाटा छाएको थियो । एकजना पुरुष टाउकोमा हात राखेर हुक्क–हुक्क गरेर रोइरहेका थिए । एकछिन त मलाई नै के गरौं र कसो गरौं झैंं भयो ।

बुझ्दै जाँदा थाहा भो हुम्लाको विकट ठाउँका ती पुरुष आफ्नी पत्नि गुमाउँदाको वियोगान्त पीडामा रोइरहेका रहेछन् । झण्डै ३० वर्षीया ती महिला सुत्केरी ब्यथा लागेपछि नजिकैको स्वास्थ्य चौकीमा पुग्छिन् । केहि समयमै उनी नर्मल सुत्केरी हुन्छिन् । स्वास्थ्यकर्मीले हातमा बच्चा थमाई दिन्छन् । उनीहरुको खुसीको सीमा नै रहँदैन् । असह्य त्यो पीडामा पनि उनी मुस्कुराइरहेको देख्दा पतिको आँखामा पनि खुसीका भावहरु छरपष्ट हुन्छ । तर पत्नीको साल खस्न ढिला हुँदै गएपछि रक्तश्राव भइरहेको त्यो दृष्यले भने पतिको मनमा चिसो सिरेटो चल्न थाल्छ । उनले स्वास्थ्यकर्मीलाई प्रश्न गर्छन् किन रक्तश्राव रोकिएन ? साल खस्न किन ढिला भइरहेको छ ? स्वास्थ्यकर्मी भन्थे–‘हामी प्रयास गरिरहेका छौं नआत्तिनुस् ।’ तर साल खस्ने छाँटकाट देखिएन । रक्तश्राव पनि रोकिएन । त्यहाँका स्वास्थ्यकर्मीले अन्ततः अन्यत्र लैजान रिफर गरे ।

त्यहाँबाट नजिक भनेको हुम्लासँग सीमा जोडिएको बाजुराको कोल्टी अस्पताल नै हो । रातारात उनलाई करिव ४ घण्टाको दूरीमा रहेको कोल्टी अस्पताल पु¥याइयो । त्यहाँ पुऱ्याउदा पनि सफल नभएपछि त्यहाँका स्वास्थ्यकर्मीको सुझावमा भेरी अस्पतालमा रिफर गरिएको रहेछ । आर्थिक अवस्था एकदमै कमजोर ती महिलालाई स्वास्थ्यकर्मीले नै पैसा उठाएर भेरीमा पठाएका रहेछन् । तर बिडम्वना भेरी अस्पतालमा नपुग्दै उनको बाटैमा मृत्यु भैसकेको रहेछ । भरखरै जन्मिएको त्यो नवजात शिशु भोकले रोइरहेको थियो । जति बच्चा रुन्थ्यो त्यति बाबु हुक्क–हुक्क गरेर भक्कानिन्थे ।  

घटना–२

बाँकेको नरैनापुरकी २० वर्षीया महिला दोस्रो पटक गर्भवती भइन् । गर्भवती भएदेखि एक पटक पनि उनले स्वास्थ्य जाँच गराएकी रहेनछिन  । प्रसूती व्यथा लागेपछि उनी सिधै नजिकको स्वास्थ्य चौकीमा गइन् । तर सुत्केरी गराउन स्वास्थ्यकर्मीले ठूलै हैरानी खेप्नु पऱ्यो । हरेक प्रयास गर्दापनि सम्भव नभएपछि अर्को दिन भेरी अस्पतालमा ल्याइयो ।

 अस्पताल आईपुग्दा बच्चाको हातखुट्टा बाहिर निस्किसकेको थियो । तर चार घण्टादेखि बच्चाको टाउँको भने बाहिर निस्कन सकेको थिएन । बच्चा झुण्डाइएकै अवस्थामा दर्दनाक पीडाका साथ ति महिला अस्पताल आईपुगेकी थिइन् । चिकित्सक र नर्सिङ स्टाफ संयुक्त प्रयासबाट बच्चा निकाल्न त सफल भए तर बच्चाको ज्यान जोगाउन भने सकेनन्। आमाको ज्यान भने धन्न जोगियो । यो केशमा महिलाले नियमित प्रसूती जाँच गरेको भए पहिले नै पेटमा रहेको बच्चाको अवस्थाबारे थाहा हुने थियो । किनभने उक्त बच्चा पेटमा उल्टो बसेको थियो ।

आफु पनि एक आमा भएको नाताले अकालमा आमाबच्चाको मृत्युको घटनाले निक्कै पीडा हुने गर्दछ । कतिपय जोखिममा रहेका महिलाको सकुशल सुत्केरी गराउँदा आफुलाई सन्तोष हुन्छ भने सन्तानको मुख हेर्ने ठूलो अभिलाषा राखेका महिलाको समयमै उपचार नपाउने लगायतका स्वास्थ्य जटिलताका कारण अकालमै आमा र बच्चाको मृत्युका घटनाले आफैलाई पीडा दिने गर्दछ ।

यी त केही प्रतिनिधिमूलक घटना मात्रै हुन् । यी यस्ता घटना वर्तमान कोरोना कहरको समयमा अझ बढी घटेको पाइएकाले यसतर्फ सम्बन्धित सबैको ध्यान पुग्न जरुरी देखिएको छ । कोरोना त्रासका कारण नियमित गर्भवती चेकजाँच नगर्दा, सुत्केरी कहाँ, कसरी गराउने भन्ने कुराको पूर्वयोजना नबनाउँदा, अस्पताल पुऱ्याउन ढिलाई हुँदा, जोखिममा रहेका गर्भवती महिलाले गाउँकै स्वास्थ्य चौकीको भर परेर समयमै सुबिधा सम्पन्न अस्पताल पुग्न नसक्दा पनि मातृशिशु मृत्युदर बढेको छ ।

यसैगरी उमेर नपुग्दै बिबाह गर्दा, कम उमेरमै गर्भवती हुँदा, धेरै बच्चा जन्माउँदा, गर्भवती अवस्था पोषिलो खाना खान नपाउदा – विकलाङ्ग बच्चा जन्मने, लामो ब्यथा लाग्ने, बच्चा जन्माउन नसक्ने, अत्याधिक रक्तश्राव हुने, ब्लडप्रेसर हाई हुने समस्याहरु पनि देखिएका छन् । यसैगरी कोरोना कहरका बीचमा श्रीमान श्रीमती सँगै रहेर पनि परिवार नियोजनका साधन नअपनाउने, सुत्केरी महिलाले आवश्यक स्याहार नपाउने समस्या पनि देखिएका छन् 

। दोस्रो चरणको कोरोना संक्रमण फैलिएसँगै भेरीमा कोरोना बिरामीको उपचार मात्रै हुन्छ, भेरी अस्पतालमा गए कोरोना सर्छ भन्ने गलत हल्लाका कारण पहिलेको तुलनामा सुत्केरी सेवा लिन आउने संख्यामा अहिले कमी आएको थियो । भेरी अस्पतालले नियमित सुत्केरी सेवा दिईरहेको भएतापनि, कोरोना त्रास, यातायातको असुबिधालगायतका कारणले यस्तो भएको हुन सक्दछ । सबै सेवाग्राहीले अस्पतालमै सुत्केरी हुने वातावरण मिलाउनका लागि सबैले आ–आफनो क्षेत्रबाट लाग्नु पर्ने देखिएको छ । कोराना कहरले कोभिड बिरामीको उपचारसँगै नन कोभिड बिरामीको उपरचारलाई पनि भेरी अस्पतालले निरन्तरता दिइरहेको छ । अझ प्रसूती सेवाको सन्दर्भमा कुरा गर्दा कोभिड भएका र नन कोभिड छुट्याएर सुबिधा दिने गरिएको छ । बैशाख यता १२ जना कोभिड संक्रमित महिलालाई जटिल र सामान्य प्रसूती सेवा उपलब्ध गराईएको छ । 

भेरी अस्पताल कोरोना बिरामीको उपचार गर्ने अस्पताल भएकाले कोरोना सर्छ भन्ने भ्रम, लकडाउनका कारण सवारीसाधनको असुबिधा, कोरोना डरत्रासका कारण अन्तिम समयसम्म घरमै सुत्केरी हुन खोज्ने प्रवृति अहिले समस्याको रुपमा देखिएका छन् । सुत्केरी हुन अस्पताल आएकाहरु प्रायः गरेर ढिलोगरी अस्पताल आउने गरेका कारण बच्चाले आमाको पेटमै दिसा खाईसकेको हुने, पेटभित्रै बच्चा मरिसकेको हुने, अत्याधिक रगत बग्ने, रगतको कमी हुने, ब्यथा लामो हुनाले आमा र बच्चाको स्वास्थ्यमा गम्भीर असर पर्ने गरेको पाईएको छ ।

अस्पतालमा प्रसूती सेवा लिन आउनेमा प्रायः गरी ढिला आउने, सुत्केरी हुने समय ब्यतित भैसकेका, रगतको मात्रा कम भएका, लामो ब्यथा लागेका, आमाको पेटभित्रै बच्चा निस्सासिएको हुने गरेकाले यस्तो घटना रोक्नका लागि गर्भवतीसँगै अन्य सम्बन्धित पक्ष बेलैमा चनाखो हुनु पर्ने देखिएको छ । गत आर्थिक वर्षको अन्त्यतिर असार साउन महिनामा मातृशिशु मृत्युदर उच्च थियो । कारण खोज्दै जाँदा गर्भवतीको नियमित गर्भ जाँच नगराउनु, ढिला अस्पताल आउनु मुख्य समस्याको रुपमा देखिएको थियो । ९ महिना गर्भमा राखेर पीडा भुल्दै सन्तानको मुख हेर्न लालायित आमालाई मृत बच्चा ल्याएर दिनु पर्दा म स्वास्थ्यकर्मीको मन त चसक्क हुन्छ भने ति आमाको मन कस्तो हुन्छ होला ?

उनी र उनको परिवारलाई कति पीडा हुन्छ होला ? ढिला गरी अस्पताल आएका कारण दिसा खाईसकेको, सुत्केरी हुने समय कटेर पानी सुकेका कारण अस्पताल आउँदासम्म अधिकांश गर्भवती महिलाहरुको पेटभित्रै बच्चा मरिसकेका हुन्छन् । रगताम्य अवस्थामा सुत्केरी ब्यथा लाग्दा पनि सन्तानको मुख हेर्न आशामा पीडा भुलेका गर्भवती महिलाहरु जव अनेकन कष्ट ब्यहोर्दै मृत बच्चा जन्माउँदा उनीहरुले भोगेको पीडा र बेदना देख्नु पर्दा मन कटक्क खान्छ । 

कोरोना कहरले आम नागरिकलाई प्रभावित पारेसँगै नर्सिङ सेवा प्रभावित नहुने कुरै भएन । तर पनि अन्य समयमा भन्दा अझ बढी जिम्मेवार भई पेशा प्रति प्रतिवद्ध भएर गुणस्तरिय सेवा दिन सक्दा नै आफुलाई सन्तुष्टी मिल्छ । गर्भ रहेदेखि नै नियमित प्रसूती जाँच गर्ने, घरमा सुत्केरी नहुने, सुरक्षित सुत्केरी हुने प्रवन्ध पहिले नै मिलाउन सकेमा मातृ मृत्युदर घटाउन सकिन्छ ।

यसैगरी गर्भवती आमाले पेटमा रहेको बच्चा चले नचलेको बिचार गरिरहने, कुनै स्वास्थ्य समस्या भएमा तत्काल दक्ष स्वास्थ्यकर्मीको सल्लाह लिने गरेमा पनि मातृशिशु मृत्युदर घटाउन सकिन्छ । त्यसैले कोरोनाको कहरकाबीचमा पनि भेरी अस्पतालमा नियमित सेवा संचालन भैरहेकोले सुरक्षित प्रसूती सेवाका लागि अस्पतालमा आउने वातावरण मिलाउन स्वयम गर्भवती महिला, घरपरिवारलगायत सम्बन्धित सबै लाग्नु पर्ने देखिएको छ ।

(वसुन्धरा, भेरी अस्पतालमा कार्यरत अस्पताल नर्सिङ निरीक्षक हुन्)

  • ३० श्रावण २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech