कर्णालीमा संक्रमणको ग्राफ बढ्यो, खोप अभियान भने निकै सुस्त

    • स्वास्थ्य पेज

  • ३० श्रावण २०७८, शनिबार

वीरेन्द्रनगरः कोरोना संक्रमणको दोस्रो लहर कम हुन थालेपछि निषेधाज्ञा खुकुलो भएसँगै पछिल्लो समय फेरि जोखिम बढेको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बजार, पसल तथा सवारी साधन निर्वाध सञ्चालनमा आएपछि एकाएक कारोना संक्रमण दर फेरि उकालो लागेको छ।

सरकारी तथा गैरसरकारी कार्यालयहरुमा समेत स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेको देखिँदैन भने सवारी साधनमा समेत उस्तै लापरवाही गरिएको छ। भिडभाड र स्वास्थ्य सुरक्षाको मापदण्डमा बेवास्ता गरेकै कारण संक्रमण दरको ग्राफ उकालोमा लागेको छ।

जटिल प्रकृतिका कोरोना संक्रमितहरु उपचारका लागि अस्पताल पुग्ने क्रम बढ्न थालेको छ। पछिल्लो दुइ हप्ताको तथ्यांक अनुसार कर्णाली प्रदेशमा ६ सय भन्दा बढी कारोना संक्रमित थपिएका छन्। जसमध्ये १ सय १० जना बढी अस्पतालमा उपचार गरिरहेका छन् भने उपचारका क्रममा ५ जनाको मृत्यु भएको छ।

पछिल्लो समय संक्रमणदर तीव्र गतिमा फैलिरहेको छ। परीक्षण गरिएकामध्ये संक्रमण पुष्टि हुने दर झण्डै ६५ प्रतिशत पुगेको छ। त्यसैले सावधानी अपनाएर मात्रै घर बाहिर निस्कनु पर्ने चिकित्सकको भनाइ छ।

‘पछिल्लो समय फेरि चारैतिर भिडभाड छ, स्वास्थ्य सावधानी अपनाएको देखिँदैन’, स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रविन खड्काले भन्नुभयो, ‘सकिन्छ, घरबाट ननिस्कौँ, निस्कनै परे, भिडभाड, र स्वास्थ्य सावधानी अपनाउ जोखिम बढ्दो छ।’

अझ पछिल्लो समय नयाँ भेरियन्टको खतरा बढेकाले सबैले ख्याल गर्नुपर्ने उहाँको भनाइ छ। तर, सरकारले नियन्त्रण र उपचारलाई प्राथमिकता दिएर आवश्यक तयारी गरिरहेको उहाँले बताउनुभयो। पछिल्लो समयमा कर्णाली प्रदेशमा कोरोना संक्रमण दैनिक बढ्दो क्रममा देखिँदा खोप अभियान निकै सुस्त गतिमा छ।

कोरोना संक्रमणको रोकथाम तथा नियन्त्रणको लागि प्रभावकारी मानिएको कारोना विरुद्धको खोप अभियान भने सुस्त गतिमा छ। खोप अभियान शुरु भएको फागुन महिनादेखि ७७ हजार जनाले पूर्ण मात्राको खोप पाएका छन् भने २ लाख ४४ हजार ५१२ जनाले खोपको पहिलो मात्रा लगाएका छन्।

प्रदेशका ग्रामिण क्षेत्रहरुमा कोरोनाविरुद्धको खोप लगाउने बारे जानकारी हुन नसक्दा कतिपय लक्षित वर्ग खोप लगाउनबाट बञ्चित भएका छन्। पहिलो मात्रा खोप लगाएकाहरुले समेत दोस्रो डोज लगाउन पाएका छैनन्।

सरकारले तोकेको लक्षित वर्गभन्दा पनि पावर, पहुँच र भनसुनका आधारमा खोप लगाइने प्रवृत्ति हावी भएको छ। सरकारले सर्वसाधारणले पाउने गरी व्यवस्थापन गर्नुपर्ने सर्वसाधारणको माग छ।

कर्णालीमा अनुमानित १७ लाख जनसंख्यामध्ये झण्डै १२ लाखलाई खोप अनिवार्य आवश्यक देखिन्छ। कुल जनसंख्यामा ३ लाखभन्दा बढी बालबालिका छन भने २ लाख नागरिक विदेशिएका छन्। त्यसैले बाँकीलाई खोप आपूर्ति गर्नुपर्ने छ।

  • ३० श्रावण २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech