कर्णालीको स्वास्थ्य सुधार्न कार्ययोजना बनाउँदै डब्लूएचओ

    • स्वास्थ्य पेज

  • २७ श्रावण २०७८, बुधबार

वीरेन्द्रनगर: विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले कर्णाली प्रदेशको कमजोर स्वास्थ्य अवस्था सुधार गर्ने योजनालाई अघि सारेको छ । सङ्गठनले त्यसका लागि कार्ययोजना निर्माण गरिने बताएको छ । डब्लूएचओले गर्दै आएको कामका बारेमा जानकारी दिन सुर्खेत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत डब्लुएचओका नेपाल प्रमुख डा राजेश पाण्डवले स्वास्थ्य अवस्थामा देखिएको कमजोरीलाई सुधार गर्न डब्लूएचओले विशेष गृहकार्य गरिरहेको बताउनुभयो ।

यसका लागि कर्णालीको कार्ययोजना अनुरूप अघि बढ्ने जनाउँदै नेपाल प्रमुख डा पाण्डवले अन्य प्रदेशको तुलनामा कर्णालीको स्वास्थ्य अवस्था कमजोर रहेकाले अहिले यो प्रदेशमा कोरोना खोप, स्वास्थ्य सामग्रीलगायतको उपलब्धता र आगामी दिनमा थाल्नुपर्ने रणनीतिका विषयमा जानकारी लिन सुर्खेत आएको जनाउनुभयो ।

‘हरेक वर्गका नागरिकको स्वास्थ्य राम्रो हुनुपर्दछ भन्ने मान्यता विश्व स्वास्थ्य सङ्गठनले राख्दछ । यहाँका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा दिन हामी हातेमालो गर्न तयार छौँ, प्रमुख डा पाण्डवले भन्नुभयो–‘यसका लागि सङ्घ र प्रदेश सरकारबाट यहाँको स्वास्थ्य अवस्था र कस्तो ठाउँमा सहयोग गर्दा प्रभावकारी हुन्छ भन्ने तथ्याङ्कसहितको प्रतिवेदन हामीले पाउँदा काम गर्न सहज हुनेछ ।

कर्णालीका नागरिकलाई स्वास्थ्यको पहुँचमा पुर्‍याउनका लागि नजिकबाट त्यो अवस्था नियालिरहेको र आउने दिनमा सङ्गठनले स्वास्थ्य क्षेत्रको प्रगतिका निम्ति सहयोग गर्ने भन्दै उहाँले कोरोना महामारीको जोखिम कायमै रहेकाले यसबाट बच्न सबै पक्ष गम्भीर भएर लाग्न अनुरोध गर्नुभयो । डब्लूएचओले सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीलाई एक सय ७५ थान अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरेको थियो ।

  • २७ श्रावण २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech