नेपालगन्जः नेपालगन्जमा कोभिडविरुद्धको खोप (कोभिशिल्ड) को दोस्रो डोज साउन २९ र ३० गते लगाइने भएको छ। नेपालगन्ज उपमहानगरपालिकाले सूचना जारी गर्दै कोभिशिल्डको पहिलो मात्रा लगाएका नागरिकलाई दोस्रो मात्रा लगाइने जानकारी दिएको हो।
उपमहानगरपालिकाले २३ वटै वडा कार्यालयमार्फत कोभिशिल्डको दोस्रो मात्रा लगाइने जानकारी दिएको छ। शुरुमा भारतबाट खरिद गरिएको कोभिशिल्ड खोप भारतले रोकेपछि सोही प्रकारको खोप सरकारले जापानबाट ल्याएको हो ।
एस्ट्राजेनेका नामको उक्त खोप भारतमा कोभिशिल्डको नामले उत्पादन हुँदै आएको छ । २०७७ फागुन २३ गतेदेखि २८ गतेसम्म र अन्य मितिमा कोभिशिल्डको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा लगाइने नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतले बताउनुभयो ।
खासगरी ६५ वर्षमाथिका जेष्ठ नागरिकले फागुनमा कोभिशिल्डको पहिलो डोज लगाएका थिए । बाँकेमा २० हजार ८ सयबढी कोभिशिल्डको दोस्रो डोजको पखाईमा छन् ।