कोभिडको उच्च जोखिममा बालबालिका, १० वर्ष मुनिका १७ हजार

    • स्वास्थ्य पेज

  • २७ श्रावण २०७८, बुधबार

नेपालगन्जः मंगलवार ठाकुरबाबा नगरपालिका ५ बर्दियाकी २ वर्षीया बालिकालाई भाइरस संक्रमण पुष्टि भयो । त्योभन्दा तीन दिन अघि बाँकेको कोहलपुरका ६ जना बालबालिकालाई भाइरस संक्रमण पुष्टि भयो । पछिल्लो केही सातादेखि बालबालिका भाइरस संक्रमणको चपेटामा पर्नेक्रम बढेको छ ।

मंगलवार ४९०४ जनामा भाइरस संक्रमण पुष्टि हुँदा १० वर्ष मुनिका १०३ जना बालबालिका परेका छन् । ११ वर्षदेखि २० वर्ष उमेर समूहका २४२ जना संक्रमित भएका छन् ।

कोरोना संक्रमितको संख्या बढेसँगै २० वर्ष मुनिका बालबालिका संक्रमित हुने क्रम पनि बढ्दो छ । साउन महिनाभित्रै ५ हजार भन्दा बढी बालबालिका संक्रमित भइसकेका छन् । दिनहुँ आउने संक्रमितको कुल संख्यामा १० प्रतिशत बालबालिका नै छन् ।

साउन महिनाको यो अवधिसम्ममा नेपालमा ७० हजार व्यक्तिमा कोरोना संक्रमण देखियो ।

संक्रमितको संख्या बढेसँगै बालबालिकामा संक्रमण देखिने क्रम पनि धेरै देखिएको छ । यही साउन १ गते यता १० वर्ष मुनिका १ हजार ४ सय बालबालिका संक्रमित भइसकेको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउँछ ।

यस्तै ११ देखि २० वर्ष उमेर समूहका ४ हजार बढी बालबालिका संक्रमित भएका छन् ।

पहिलो र दोस्रो लहरमा युवा तथा जेष्ठ नागरिक धेरै संक्रमित भएकोमा तेस्रो लहरमा धेरै बालबालिका संक्रमित हुने प्रक्षेपण गरिएको छ ।

बालबालिकाले खोप लिन नपाएकाले उनीहरूमा जोखिम देखिएको मन्त्रालय बताउँछ । बालबालिका सबैसँग घुलमिल हुने र अहिलेसम्म खोप नलगाएका कारण उनीहरूमा संक्रमणको जोखिम उच्च रहेको भेरी अस्पतालका बालरोग विशेषज्ञ डा बिष्णुकुमार थापाले बताउनुभयो ।

नेपालमा हालसम्ममा २० वर्ष मुनिका ६६ हजार ८ सय ६ जना बालबालिकामा कोरोना संक्रमण देखिसकेको छ ।

जसमा १७ हजार त १० वर्ष मुनिका छन् । बढ्दो भिडभाड र चलायमान जनजीवनका कारण संक्रमितको संख्या केही बढेको विज्ञहरूको ठम्याइ छ ।

डेल्टा भेरियन्ट संक्रमितकहरूनै धेरै देखिएकाले अहिले संक्रमा कोभिडको दोस्रो लहरभित्रै पर्ने विज्ञहरू बताउँछन् ।

स्वास्थ्य मन्त्रालयले आगामी असोज १५ पछि तेस्रो लहर सुरु हुने प्रक्षेपण गर्दै आगामी मंसिर महिनासम्ममा २ लाख नयाँ संक्रमित थपिने जनाइसकेको छ । यो अवस्थामा खोप पहुँचमा नपरेका १८ वर्षमुनिका बालबालिकाको स्वाथ्यमा विशेष ख्याल राख्नु जरुरी देखिन्छ ।

१८ वर्ष मुनिका बालबालिकाका लागि फाइजरको खोप तेस्रो लहर सुरु हुने बेलासम्ममा नेपाल आइपुग्ने सम्भावना कम देखिएकाले जनस्वास्थ्यको मापदण्ड पालनामा कडाइ, भिडभाडमा जान नदिनु र सामाजिक दूरी कायम राख्नु नै बालबालिकालाई जोगाउने उत्तम उपाय हुनसक्छ ।

  • २७ श्रावण २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech