कोभिडलाई रुघाखोकी रुपमा परिभाषित गर्दा जटिलताः अर्थमन्त्री

    • स्वास्थ्य पेज

  • २६ श्रावण २०७८, मंगलवार

नेपालगन्जः अर्थमन्त्री जनदर्शन शर्माले कोभिड १९ महामारीलाई प्रारम्भमा सामान्य रूघाखोकीको रूपमा परिभाषित गर्दा जटिलता पैदा भएको बताउनुभएको छ । ‘देशको वर्तमान आर्थिक अवस्थाको जानकारी’पत्र संसदमा पेश गर्दै शर्माले विज्ञहरूका सल्लाह र सुझाव विपरीत महामारीलाई सामान्यकीरण गर्दा ठूलो मानवीय क्षति हुन पुगेको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ असार ४ गते राष्ट्रियसभा बैठकमा भन्नुभएको थियो कोरोना भनेको रूघाखोकीजस्तै हो। लागिहाल्यो भने हाच्छ्युँसाच्छ्युँ गर्नुपर्छ। तातोपानी खानुपर्छ, उडाइदिनुपर्छ ।’

त्यसैतर्फ लक्षित गर्दै सरकारले अघिल्लो सरकारले आवश्यक गाम्भीर्यता नदेखाएको र आवश्यक सावधानी र पूर्वतयारी पनि समयमै पुरा नगरेको आरोप लगाएको छ ।

‘छिमेकी देशहरूमा देखिएको असर र प्रभावको सुक्ष्म विश्लेषण गरी स्वास्थ्य पूर्वाधारको निर्माण, परीक्षणको दायरा विस्तार, उपचारको उचित प्रबन्ध, पर्याप्त होल्डिङ्ग सेन्टरको निर्माण, क्वारेण्टिन, आइसोलेशन सेन्टर, आइसीयू तथा एचडीयू बेडको थप व्यवस्था, भेण्टिलेटर, अक्सिजनको अभाव जस्ता पक्षमा गम्भीरतापूर्वक ध्यान दिई समयमै पूर्वतयारी गर्न सकेको भए यति ठूलो मानवीय क्षति हुने थिएन’ श्वेतपत्रमा भनिएको छ ।

उहाँले कोभिड १९ महामारीको उत्कर्ष र यसले सिर्जना गरेको आर्थिक चुनौतीका बीच यो सरकारको कार्य प्रारम्भ गरेको बताउनुभयो। स्वास्थ्य मापदण्डको कडाईका साथ पालना र जनचेतना अभिवृद्धिजस्ता सामान्य विषयमा ध्यान नपुर्‍याई राजनीतिकस्तरबाट नै अनावश्यक रुपमा गरिएका शिलान्यास, उद्घाटन, सभा, प्रदर्शन जस्ता भीडभाड जन्य गतिविधिले कोरोनाको दोस्रो लहर तीब्र रुपमा फैलन सहयोग पुर्‍याएको श्वेतपत्रमा उल्लेख छ ।

  • २६ श्रावण २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech