आजदेखि देशभर मास्क अभियान, बाँकेमा हप्ता अघि नै सुरु

    • स्वास्थ्य पेज

  • २३ श्रावण २०७८, शनिबार

नेपालगन्जः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आजदेखि २९ गतेसम्म देशभर मास्क अभियान सञ्चालन गरेको छ ।

‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धता मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूलनाराका साथ मन्त्रालयले अभियान सुरु गरेको हो।

बाँकेमा मास्क अभियान एक हप्ता अघि देखि नै सुरु भइसकेको छ । जिल्ला कोभिड व्यवस्थापन केन्द्रले मास्क अभियान सुरु गरिसकेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिनुभयो । उहाँले यसलाई अझ प्रभावकारी र व्यापकता पारिँदै लगिने पनि जानकारी दिनुभएको छ।

‘म पनि मास्क लगाउँछु अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु, म जिम्मेवार नेपाली’ लगायतका नारा पनि अभियानका लागि तय गरिएको छ।

प्रमुख जिल्ला अधिकारी गेलालले मास्क प्रयोगको महत्व बुझाउँदै व्यवहार परिवर्तनका लागि प्रोत्साहन र उत्प्रेरित गर्न मास्क अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो।

उहाँले जनस्वास्थ्यमा मापदण्ड उल्लघङ्न भएको र मास्क लगाउन पनि लापरवाही गरेकाले स्वास्थ्यको मापदण्ड तथा मास्कको महत्वबारे जानकारी गराउन अभियान सुरु भएको बताउनुभयो ।

सङ्क्रमण दिनानुदिन बढे पनि मानिसले सही तरिकाले मास्क नलगाउने गरिएको पाइएको छ। अभियान अन्तरगत विभिन्न चेतनामुलक कार्यक्रमहरु सञ्चालन हुनेछ।

स्थानीय तहले पनि आ आफ्नो क्षेत्रमा मास्क कसरी लगाउने भनेर सिकाइरहेका छन्। उहाँका अनुसार स्वास्थ्य स्वयमसेविकामार्फत गाउँटोलमा मास्कको महत्वबारे टोलटोलमा सिकाइने छ।

  • २३ श्रावण २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech