कारागारका कैदीबन्दीलाई आज कोभिडविरुद्धको खोप

कोभिसिल्डको पहिलो डोज लगाएका २० हजारभन्दा बढीले पाँच महिना पुग्दा समेत खोपको दोस्रो डोज पाएका छैनन् ।


    • स्वास्थ्य पेज

  • २१ श्रावण २०७८, बिहीबार

नेपालगन्जः नेपालगन्जस्थित जिल्ला कारागारका कैदीबन्दीलाई आज कोरोना विरुद्धको खोप लगाइने भएको छ । एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको ज्यान्सन खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय बाँकेका खोप अधिकृत भेषराज शर्माले जानकारी दिनुभयो ।

उहाँका अनुसार, कारागारभित्रै उनीहरुलाई खोप लगाइने छ । शर्माले दिएको जानकारी अनुसार, ३ सय ५० जना हाराहारीलाई कोभिड विरुद्धको खोप लगाउन लागिएको हो । बाँकेमा अहिलेसम्म १ लाख २ हजारले कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएका छन् । त्यस्तै ४७ हजार ७ सय ३७ जनाले खोपको दुवै डोज पूरा गरेका छन् ।

बाँकेमा कोभिड विरुद्धको खोप लगाउने लक्षित समूहको संख्या ३ लाख ८० हजार रहेको छ । यो समूह १८ बर्ष माथिको हो । अहिलेसम्म बाँके जिल्लामा भारतको कोभिसिल्ड, चीनको भेरोसेल र अमेरिकाको जोन्सन एण्ड जोन्सनको ज्यान्स खोप लगाइएको छ । तर कोभिसिल्डको पहिलो डोज लगाएका २० हजारभन्दा बढीले पाँच महिना पुग्दा समेत खोपको दोस्रो डोज पाएका छैनन् ।

फागुनको २३ गतेपछि कोरोना विरुद्धको कोभिसिल्ड लगाएका ६५ वर्षमाथिका २० हजार ८ सय ७३ जनाले अहिलेसम्म दोस्रो डोज नपाएका हुन् । शर्माले अवको केही सातामै उनीहरुलाई दोस्रो डोज खोप दिइने बताउनुभएको छ ।

जापान सरकारले पठाउन लागेको १६ लाख डोज अस्ट्राजेनिका खोप कोभिसिल्ड लगाएका नागरिकलाई दोस्रो डोजका रुपमा लगाउन लागिएको हो ।

  • २१ श्रावण २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech