कोभिड प्रभावितलाई सरसफाई तथा स्वच्छता सम्बन्धी सामाग्री सहयोग

    • स्वास्थ्य पेज

  • १९ श्रावण २०७८, मंगलवार

नेपालगन्जः बर्दिया जिल्लाको बारबर्दिया र राजापुर नगरपालिकामा बसोबास गर्ने कोभिड प्रभावित अति बिपन्न परिवारलाई सरसफाई तथा स्वच्छता सम्बन्धी सामाग्री सहयोग गरिएको छ।

प्लान ईन्टरनेशनल नेपाल, क्षेत्रीय कार्यालय सुर्खेतको सहयोग, बारबर्दिया तथा राजापुर नगरपालिकाको समन्वयमा बाँके युनेस्को क्लब, नेपालगंजले उनीहरुलाई सो सामाग्रीहरु सहयोग गरेको हो। आकस्मिक प्रतिक्रिया तथा प्रारम्भिक पुनर्लाभ कोष परियोजना अन्तरगत बारबर्दिया नगरपालिकाका १ सय २८ तथा राजापुर नगरपालिकाका १ सय २८ गरि कुल २ सय ५६ घरधुरीलाई उक्त सामाग्री प्रदान गरिएको युनेस्को बाँकेका अध्यक्ष राजेन्द्र चौधरीले जानकारी दिनुभयो।

मंगलबार राजापुर नगरपालिका वडा नम्बर ६ तथा बारबर्दिया नगरपालिका वडा नम्बर १० को कार्यालय परिसरमा बितरण कार्यक्रमको आयोजना गरि सामाग्रीहरु हस्तान्तरण गरिएको थियो । बितरण गरिएको सामाग्रीमा प्रत्येक परिवारलाई सर्जिकल मास्क २५० थान, डिजिटल थर्मामिटर १ थान, टुटीसहितको २० लीटरको बाल्टीन १ थान, नुहाउने साबुन ४ वटा, लुगा धुने साबुन ४ वटा, साबुनदानी २ वटा, स्याम्पु २ बट्टा, सेनेटरी कपडा २ प्याकेट, पेन्टी ४ वटा, सेनेटरी प्याड १० प्याकेट, ब्याट्री टर्च २ वटा, सेनिटाईजर ५ सय एमएलको २ वटा, स्वच्छता तथा सरसफाई झोला १ थान लगायतका रहेका छन ।

यसै परियोजना अन्तरगत दुबै पालिका क्षेत्रमा युनेस्कोले कोभिड १९ बिरुद्ध माईकिंग, बिपद सम्बन्धी सचेतनामुलक पम्पलेट बितरण र सचेतनामुलक होर्डिंगबोर्ड लगाएको छ । बाँके युनेस्को क्लबका अध्यक्ष चौधरी, प्रमुख संरक्षक प्रबेज अलि सिद्दिकी, कार्यकारी निर्देशक रबि तुलाधर, सह निर्देशक साजिद अलि सिद्दिकी, राजापुर नगरपालिका वडा नम्बर ६ का सदस्य ठाकुर प्रसाद थारु, शंकर कुमारी थरुनी, स्वास्थ्य चौकी प्रमुख भुवन दहित, बारबर्दिया नगरपालिका वडा नम्बर १० का अध्यक्ष निरन्जन चौधरी लगायतले सो सामाग्री हस्तान्तरण गर्नुभएको थियो।

यसअघि पहिलो चरणमा अन्तरगत गत महिना राजापुर र बारबर्दिया नगरपालिकाका ६१५ परिवारलाई सोही बमोजिमको सामाग्रीहरु सहयोग गरिएको बांके युनेस्कोले जनाएको छ ।

  • १९ श्रावण २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech