लुम्बिनी प्रदेशमा कोरोना संक्रमण दर बढ्यो, कोभिड अस्पतालमा बिरामी भरिन थाले

    • स्वास्थ्य पेज

  • १८ श्रावण २०७८, सोमबार

तस्बिर:फाइल

नेपालगन्जः लुम्बिनी प्रदेशमा कोरोना संक्रमण दर बढ्दै गएको छ । पछिल्लो दुई हप्तामा तथ्याङ्क केलाउने हो भने प्रति १०० जनामा ३० जनामा संक्रमण देखिएको छ ।निषेधाज्ञा खुकुलो भएर सार्वजनिक यातायात सहित सबैखाले व्यवसाय सञ्चालनमा आएसँगै कोरोना संक्रमित बिरामी बढ्न थालेका हुन् ।

बजार र सार्वजनिक यातायातमा यात्रुको भीडभाड बढेको छ तर स्वास्थ्य सुरक्षामा हेलचेक्र्याइ हुँदा संक्रमण दर पनि बढेको चिकित्सकहरु बताउँछन् । संक्रमित हुनेमा व्यवसायी, पेशाकर्मी लगायत कामकाजी उमेर समूहका रहेका छन् ।

एक सय जनाको पीसीआर परीक्षण गर्दा औसत ३० जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको लुम्बिनी प्रादेशिक अस्पतालका कोरोना फोकल पर्सन डा. नन्दु पाठकले बताउनुभयो ।

रुपन्देही, अर्घाखाँची, गुल्मी, कपिलवस्तु लगायतका जिल्लाबाट आएकाहरुमा कोरोना संक्रमण बढी देखिएको र हरेक दिन कोरोना संक्रमण दर बढ्दो क्रममा रहेको डा पाठकको भनाइ छ ।

संक्रमित बिरामी बढेसँगै लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना वार्डको आईसीयूका २० वटै बेड भरिभराउ रहेका छन् । यस्तै २६ वटा एचडीयू बेडमध्ये १५ बेडमा र इमर्जेन्सीमा ११ जना कोरोना संक्रमित विरामी भर्ना भएका डा पाठकले जानकारी दिनुभयो ।

सामाजिक दुरी कायम नगर्ने, मास्क नलगाई भीडभाडमा निस्कने र मिल्दोजुल्दो लक्षण देखिंदा पनि परीक्षण नगर्ने परिपाटीले कोरोना संक्रमण बढेको डा पाठकको भनाइ छ ।

  • १८ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech