के हो खोप काण्ड ?

    • स्वास्थ्य पेज

  • १६ श्रावण २०७८, शनिबार

झापा: स्वास्थ्य कार्यालय झापाले पठाएको १ सय भायल भेरोसेल खोप बिर्तामोडको एउटा होटलमा भेटिएको खबर एकाएक व्याप्त भयो।

खोपसँगै बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्का प्रहरीको नियन्त्रणमा परे। नेपाली कांग्रेस तथा माओवादी केन्द्रका केही कार्यकर्ताले उनलाई होटलमै र्‍याखर्‍याख्ती पारे। साँझ उनलाई प्रहरीले मुक्त गर्‍याे । उनीसँगै बरामद गरिएको खोप स्वास्थ्य कार्यालय झापाले फिर्ता लग्यो।

स्वास्थ्य कार्यालय झापाले बिर्तामोडका लागि पठाएको र फिर्ता लगेको खोप जिल्ला प्रशासन कार्यालय झापामा बुझाउने तयारी गरेको छ।

खोपसहित होटलमा भेटिएका खड्कामाथि खोप लाउन घण्टौं लाइनमा बसेका सर्वसाधारणले सामाजिक सञ्जालमा तीव्र आक्रोश पोखेका छन्।

सर्वसाधारणले सबै खोपको तथ्यांक सार्वजनिक गर्न बिर्तामोड नगरपालिकामाथि दबाब दिएका छन्।

स्वास्थ्य कार्यालय झापाले ‘ब्याकअप’ का लागि बिर्तामोड नगरपालिकालाई उक्त खोप पठाइदिएको हो। कार्यालयबाट खोपसहित केही कर्मचारी बिर्तामोडका लागि हिँडे। बिर्तामोड नगरपालिकाको कार्यालय बिर्तामोड-भद्रपुर सडकमै छ। नगरपालिकाको कार्यालय पनि नाघेर खोप लिएर स्वास्थ्य कार्यालयका कर्मचारी केही किलोमिटर पर रहेको होटल टाइमलेस मोमेन्ट्समा पुगे। जहाँ कोभिड फोकल पर्सन खड्का थिए।

नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख तुलसी पोखरेलले नगरपालिका कार्यालयमा खोप नबुझाएर होटलमा खोप लगिएकोमा असन्तुष्टि जनाएका छन्।

स्वास्थ्य कार्यालय झापाका प्रमुख योगराज घिमिरेले शुक्रबारको बिर्तामोड काण्डले गतिलो पाठ सिकाएको बताउनु भयो ।

खोप जिम्मा लिने मान्छे जहाँ छ त्यहाँ जिम्मा दिने चलन पहिलादेखि भएको उहाँले बताउनु भयो। तर बिर्तामोड घटनाले अब त्यसो गर्न नहुने रहेछ भन्ने कुरा सिकाएको उहाँको भनाइ छ।

 

  • १६ श्रावण २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech