नेपाललाई कहाँ–कहाँबाट आयो खोप, अव कति आउन बाँकी ?

    • स्वास्थ्य पेज

  • १५ श्रावण २०७८, शुक्रबार

काठमाडौंः नेपाल सरकारले कुल जनसङ्ख्याको ७२ प्रतिशत अर्थात पहिलो प्राथमिकतामा रहेका दुई करोड १५ लाख र पछिल्लो समय १२ वर्षदेखि १८ वर्ष उमेर समूहका ४९ लाख गरी कुल दुई करोड ६५ लाखमा खोप लगाउने लक्ष्य लिएको छ । ती सबैलाई खोप लगाउनका लागि कुल पाँच करोड ३५ लाख मात्रा खोप आवश्यक हुने गर्दछ ।

मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीले कुल जनसङ्ख्याको ६० प्रतिशत मानिसलाई खोप लगाएमा रोग नियन्त्रण गर्न सकिने र सामाजिक तथा आर्थिक गतिविधि सञ्चालन गर्न सकिने धारणा राख्नुभयो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको स्वास्थ्यसेवा विभागअन्तर्गत परिवार महाशाखाका निर्देशक डा तारानाथ पोखरेलका अनुसार अहिलेसम्म ९७ लाख ८२ हजार ८५० मात्रा खोप प्राप्त भइसकेको छ ।

कोभिशिल्ड २४ लाख ४८ हजार, भेरोसेल ५८ लाख र जोनसन एण्ड जोनसन १५ लाख ३४ हजार ८५० मात्रा खोप प्राप्त भएको छ । तीमध्ये कोभ्याक्स सुविधामार्फत भारतबाट कोभिशिल्ड तीन लाख ४८ हजार र अमेरिकाबाट जोनसन एण्ड जोनसन १५ लाख ३४ हजार ८५० मात्रा, वैदेशिक अनुदानबाट २९ लाख मात्रा, चीनबाट १८ लाख मात्रा र भारतबाट ११ लाख मात्रा रहेका छन् । यसैगरी सरकारले खरिद गरेर ५० लाख मात्रा ल्याएको छ । भारतबाट कोभिशिल्ड १० लाख मात्रा र चीनबाट भेरोसेल ४० लाख मात्रा रहेको छ ।

आउन बाँकी

यसैगरी सरकारले चीनबाट अनुदानमा १६ लाख मात्रा, चीनसँग खरिद गरेर ६० लाख भेरोसेल खोप आउँदो भदौ मसान्तसम्म र भारतबाट खरिद गरिएको कोभिशिल्ड खोपको १० लाख मात्रा भदौ पहिलो हप्ता नेपाल आइपुग्ने तालिका छ ।

यसैगरी वैदेशिक अनुदानबाट चीन सरकारबाटै साउन मसान्तभित्रमा भेरोसेल खोपको १६ लाख मात्रा, कोभ्याक्स कार्यक्रममार्फत जापानबाट एस्ट्राजेनेका खोपको १६ लाख मात्रा भदौ पहिलो हप्ता र कोभ्याक्समार्फत नै तीन लाख ३८ हजार मात्रा थप खोप नेपाल आउने तालिका छ ।

परिवार कल्याण महाशाखाका निर्देशक डा पोखरेलका अनुसार कोभ्याक्समार्फत लागत सहभागितामा कोभिशिल्ड, मोर्डना, फाइजर, जोनसन एण्ड जोनसन र सिनोभ्याक गरी करिब एक करोड ५० लाख मात्रा तथा बालबालिकाका लागि ६० लाख मात्रा फाइजर खोप ल्याइने छ ।

उहाँले बालबालिका लागि लगाउने खोप खरिदको प्रक्रिया सुरु गरिएको जानकारी दिनुभयो । सरकारको आउँदो असोज मसान्तसम्म एक करोड पाँच लाख ४८ हजार खोप ल्याउने र असोजदेखि चैतसम्म नेपालमा थप तीन करोड २३ लाख मात्रा खोप आउने कार्यतालिका छ ।

खोप ल्याएर असोज मसान्तभित्रमा खोप लगाउने लक्ष्य लिएकामध्ये ३३ प्रतिशतलाई खोप लगाइने र चैत मसान्तभित्र सबै लक्षित समूहलाई खोप लगाउने सरकारको लक्ष्य रहेको छ । चालु आर्थिक वर्षमा सरकारले कोभिड–१९ को रोकथाम, उपचार र नियन्त्रणका लागि ३७ अर्ब ५३ करोड रुपैयाँ रकम कोरोना भाइरसविरुद्धको खोपका लागि २६ अर्ब ७५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अहिलेसम्म नेपालमा ३५ लाख ४४ हजार ४३ जनाले पहिलो मात्रा र १५ लाख तीन हजार ३१२ जनाले दोस्रो मात्रा खोप लगाइसकेका छन् ।

  • १५ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech