कोभिड भ्याक्सिन भण्डारणमा जनप्रतिनिधिको चासो खैं ?

    • तेज वली

  • १३ श्रावण २०७८, बुधबार

नेपालमा कोरोनाको दोस्रो लहर पछि खोपका लागि निकै कसरत गरिएको छ । खोपको विकल्प नभएको यस महामारीको समयमा विभिन्न देशले सहयोग गरेकै छन् भने खोपको खरिदका लागि पहलहरु भैराखेको कुराहरु पनि सुन्नमा आएका छन् ।

आमजनतामा खोप लगाउनका लागि तछाडमछाड भएको यस समयमा देशले समयमै खोपहरु ल्याएर जनताको जिउ ज्यान बचाउँनु पर्ने जिम्मेवारी पनि हो । मानिसको उपचारमा प्रयोग हुने औषधि वा खोप त्यसैपनि संवेदनशील हुने गर्दछ ।

त्यसमापनि भर्खरै विकास भएका र अति कम मात्रामा परीक्षण भएका खोपहरु खरिद गर्दा, ल्याउँदा, भण्डारण गर्दा, आम मानिसहरु भएको ठाँउ सम्म पुर्याउँदा र खोप दिँदा विशेष ध्यान पुर्याउँन जरुरी रहन्छ । कुनै एक कदममा सानो लापरवाहीले उत्पादन गर्ने, खोप दिने देखि खोप लगाई दिने सम्मलाई नकारात्मक असर पार्न सक्छ ।

हामीले बुझ्नु पर्ने कुरा के भने खोप आफै संवेदनशील कुरा हो, खोपमा मृत वा कमजोर खालको विषाणुको वा त्यसको अनुबंशको प्रयोग भएको हुन्छ, जसले हामी भित्रको प्रतिरोधात्मक क्षमतालाई विकास गर्दछ र हामीलाई रोग लाग्न बाट बचाउँछ ।

यसको भण्डारणमा सानो लापरवाही भयो भने त्यसलाई लगाउनु वा नलगाउँनुमा खासै फरक पर्दैन । आम रुपमा खोप भण्डारणका लागि +२ं देखि +८ं डिग्री सेल्सियसको तापक्रम आवश्यक पर्दछ । खोप जम्यो भने वा उल्लेख गरिएको ताकक्रम भन्दा बढि भयो भने त्यस्को क्षमतामा कमि आउने गर्दछ । एक पटक खोपको भाइल खोल्यो भने त्यसको निश्चित समय भित्र लगाई सक्नु पर्दछ (प्राय ६ घण्टा भित्र) ।

खोप लगाउनु पर्ने आम जनता छरिएर बसेको छ, धेरै मानिसहरु गाउँमा वासोवास गर्ने गर्दछन् । नेपालमा खोप भण्डारण गर्नका निम्ति बनाइएका स्टोरहरु हेर्ने हो भने देशमा धेरै परिर्वतनहरु भै सकेका छन्, जस्तैः सामाजिक, आर्थिक र राजनैतिक, कर्मचारी तथा स्वास्थ्यकर्मीको खटन पटन, सेवा सुविधामा त मुद्धा मामिलामै पुगिसक्यो ।

तर यी परिर्वतनले स्वास्थ्यका लागि संवेदनसिल मानियको खोपका लागि भने वेवास्तानै गरिएको देखिन्छ । संधियता संगै, संघ, प्रदेश त्यस अन्तरगतका जिल्ला, अनि स्थानिय तहले आ–आफ्नो अस्तित्व जोगाउन, चेन अफ कमान्डमा आफु माथि छु वा तिम्रो क्षमता भन्दा मेरो क्षमता बलियो छ भनि राख्न र आम जनता संगको सम्बन्ध कायम राख्न विभिन्न जिम्मेवारी तथा जानकारी एकले अर्कोलाई नदिने परिपाटिको एउटा उदाहारण खोप हो जस्तो लाग्छ ।

संघीयता पछिको यतिका बर्ष सम्म पछि पनि नेपालका धेरै स्थानिय तहहरुमा खोप भण्डारणका निम्ति आवश्यक न्युनतम पुर्वधार र जनशक्तिको कमि रहेको छ । यो जनप्रतिनिधिहरुले आवश्यक नठानेर हो वा स्वास्थ्यकर्मीहरुले नचाहेर । अथवा खोप औषधि जस्तै खरिद गर्न नमिल्ने भएर हो, यसलाई विचार गरिनु पर्दछ ।
हाल सम्म पनि शहरी क्षेत्रमा तथा गाँउहरुमा, जिल्लामा रहेका स्वास्थ्य कार्यलयहरु बाटै भ्याक्सिन क्यारिएरमा खोपहरु लैजाने गरिन्छ ।

कोल्ड चेनका लागि यो आवश्यक नै हो । तर भ्याक्सिन लगाई सकेपछि, साझ सम्म केहि फिर्ता हुन्छन् केहि अर्को दिन फिर्ता गरिन्छ । यसबीचमा भ्याक्सिन क्यारिएरका आइस प्याकहरु तातो भै सकेको हुन्छन् ।

हालको कोरोना महामारी बिच स्थानियतहहरुलाई एउटा मौका मिलेको छ । धेरै भ्याक्सिन प्रयोग हुने यस अवसरमा सबै स्थानिय तहहरुले भ्याक्सिन स्टोरको स्थापना गर्ने, आवश्यक जनशक्ति तयार गर्ने ताकी जन स्वास्थ्यको अत्यावश्यक र प्रमुख पाटोको रुपमा रहेको भ्याक्सिन भण्डारणमा भर पर्नु पर्ने वातावरण नबनोस् ।

जनप्रतिनिधि र स्वास्थ्यकर्मीको इच्छाशक्ति भयो भने यो सम्भव छ । यसमा प्रदेश र संघको जिम्मेवारी नै हुदैन भन्ने चाहि होइन, भ्याक्सिनको गुणस्तर, ढुवानी र नियमित अनुगमन सधै आवश्यक नै रहन्छ ।

  • १३ श्रावण २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech