श्रेष्ठको स्पष्टोक्तीः आफूले लगानी गरेका अस्पतालहरु गैरनाफामुलक

    • स्वास्थ्य पेज

  • ११ श्रावण २०७८, सोमबार

काठमाडौंः स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले आफूले लगानी गरेका अस्पतालहरु गैरनाफामुलक भएको दाबी गर्नुभएको छ । सोमबार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा राज्यमन्त्री श्रेष्ठले आफू निजी अस्पतालको सञ्चालक भएको भन्दै आलोचना गरिएको विषयमा स्पष्टीकरण दिनुभएको हो। आफूले सञ्चालन गरेको अस्पताल गैरनाफामुलक भएको उहाँको दाबी थियो।

श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएसँगै स्वास्थ्यक्षेत्रका विज्ञहरुले नै निजी अस्पतालमा लगानी गरेका व्यापारीलाई मन्त्रीमा नियुक्त गरिएको भन्दै आलोचना गरिरेहका छन्।उहाँले सरकारी अस्पतालमा जस्तै सस्तो दरमा उपचार तथा पीसीआर परीक्षण गर्ने गरी अस्पताल सञ्चालन गर्न लागेको बताउनुभयो ।

उहाँले स्वास्थ्य सेवा प्रदान गर्नु राज्यको दायित्व भएको पनि बताउनुभयो। स्वास्थ्य राज्यमन्त्री नियुक्त भएसँगै आफ्नो प्राथमिकता खोप कार्यक्रम व्यवस्थित गर्ने भएको उहाँको भनाइ छ।दभार ग्रहण गरेसँगै आफूले कोरोनाभाइरस विरुद्धको खोप ल्याउने विषयमा स्वास्थ्य मन्त्रालयका अधिकारीहरुसँग छलफल गरेको राज्यमन्त्री श्रेष्ठले बताउनुभयो ।

उहाँले कोभिडमा खटिएका फ्रन्टलाइनर, सवारी साधनका चालक, शिक्षकहरुलाई प्राथमिकता दिएर खोप कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।कोरोना संक्रमितको उपचार व्यवस्थापन चुस्त बनाउन आफूले प्राथमिकता दिने उहाँको भनाइ छ।

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले दोस्रो लहरको कोरोना महामारीमा अक्सिजन अभावले हाहाकार मच्चिएकाले अब तेस्रो लहरको संक्रमणका लागि पूर्वतयारीमा आफूहरु लाग्ने बताउनुभयो।

स्वास्थ्य मन्त्रालयले गम्भीर भएर अक्सिजन र पूर्वाधार व्यवस्थापनमा विशेष ध्यान दिने उहाँको भनाइ थियो। उहाँले अक्सिजन व्यवस्थापनको लागि अक्सिजन प्लान्ट, लिक्विड अक्सिजन व्यवस्थापन गर्ने पनि जानकारी दिनुभयो ।

 

  • ११ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech