सुदूरमा संक्रमण दर बढ्यो, सावधानीमा हेलचेक्र्याई

    • स्वास्थ्य पेज

  • ११ श्रावण २०७८, सोमबार

नेपालगन्जः सुदूरपश्चिममा कोरोना भाइरस संक्रमण दर बढ्दोक्रममा देखिएको छ । साउन महिनाको पहिलो १० दिनमा सुदूरपश्चिममा कोरोना संक्रमण दरमा वृद्धि भएको देखिएको हो ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार प्रदेशमा पिसिआर बिधिबाट परीक्षण गराउनेहरुमध्ये २५ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ ।

१० दिनमा पीसीआर बिधिबाट एक हजार एक सय ८७ जनाको परीक्षण गरिएकोमा दुई सय ९७ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयद्वारा सार्वजनिक विवरणमा उल्लेख छ । निर्देशनालयका अनुसार सुदूरपश्चिममा चार सय ७६ जना सक्रिय संक्रमित रहेका छन् ।

एण्टिजेन बिधिबाट पुष्टि भएका एक सय ७७ र पीसीआर विधिबाट पुष्टि भएका दुई सय ९९ सक्रिय संक्रमित रहेका छन् । कैलालीमा दुई सय ६, कञ्चनपुरमा एक सय १६, डडेल्धुरामा ५८, दार्चुलामा २९ र बैतडीमा २५ जना सक्रिय संक्रमित छन् ।

यस्तै बझाङमा १४, बाजुरा र डोटीमा १०–१० र अछाममा आठ सक्रिय संक्रमित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।तर, सावधानी भने अपनाउन छोडिएको छ ।

सहरी क्षेत्रमा भौतिक दुरी कायम नगरि भेलाहरु सुरु हुन थालेका छन् । सार्वजनिक यातायातहरुमा पनि क्षमताभन्दा बढी यात्रुहरु बोक्ने गरेको देखिन्छ । गाउँ–गाउँमा पनि कोरोना बिर्सिने गरी व्यवहार भइरहेका छन् ।

सुदूरपश्चिम प्रदेश कोरोना महामारीका कारण पहिलेदेखि नै जोखिममा रहेको सेती प्रादेशिक अस्पतालका चिकित्सक डा निराजन शर्माले बताउनुभयो ।

 

  • ११ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech