सरकारी खर्चले विदेशमा उपचार गर्न पाइँदैन- पूर्व स्वास्थ्यमन्त्री गगन थापा

    • स्वास्थ्य पेज

  • ६ श्रावण २०७८, बुधबार

काठमाडौं: नेपाली कांग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाले विदेशमा गरिएको उपचार खर्च व्यहोर्न नमिल्ने भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको ध्यानाकर्षण गराउनुभएको छ ।

सामाजिक सञ्जालमार्फत उहाँले २०७४ सालमा बनेको जनस्वास्थ्य ऐनमा नै ‘प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भएतापनि कुनै व्यक्तिलाई विदेशमा उपचार गर्नुपरेमा सो को लागि लाग्ने खर्च नेपाल सरकारबाट उपलब्ध गराइने छैन’ भन्ने कुरा उल्लेख भएको जनाउनुभएको छ ।

यो कानून कार्यान्वयनमा आइसकेको अहिलेको अवस्थामा नेपालको बहालवाला राष्ट्रपति,प्रधानमन्त्री देखि अन्य कसैको पनि विदेशमा भएको उपचारको खर्च नेपाल सरकारले व्यहोर्न नपाउने उहाँको भनाई छ । एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचार खर्च सरकारले व्यहोर्ने भन्ने कुरा बाहिर आएपछि उहाँले खनालको उपचारका लागि परिवार, उहाँको पार्टी पङ्क्ति लागिरहेको भन्दै उपचार खर्च जुटाउनु पर्ने अवस्था नै आएमा त्यसका लागि आफूसहित देश विदेशमा रहेका सबै नेपाली हरदम तयार रहेको बताउनुभएको छ ।

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै उहाँ थप्नुहुन्छ “कुनै पनि व्यक्तिले विदेशमा गरेको उपचार खर्च राज्यले व्यहोर्ने विषय गैरकानुनी हो र अघिल्लो सरकारले कानुन विपरीत गरेको निर्णयको भारी यो सरकारले बोक्ने छैन भन्ने कुरामा तपाईं सचेत हुनुहुन्छ र तपाईंको भनाइ उद्धृत गर्दै आएका समाचार गलत हुन् भन्ने विश्वास छ,” थापाले भन्नुभएको छ ।

  • ६ श्रावण २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech