कर्णालीमा संक्रमण दर घट्यो, जोखिम भने कायमै

    • स्वास्थ्य पेज

  • ४ श्रावण २०७८, सोमबार

वीरेन्द्रनगरः निषेधाज्ञा खुकुलो भएसँगै कर्णालीमा कोभिड संक्रमणको जोखिम बढेको छ । पछिल्लो समय सार्वजनिक स्थानहरूमा भिडभाड बढेकाले संक्रमण बढ्न सक्ने देखिएको स्वास्थ्यकर्मीहरू बताउँछन् । वैशाख पहिलो साता संक्रमणदर उच्च विन्दुमा पुगेको कर्णालीमा अहिले संक्रमणदरमा कमी आएको छ । वैशाख पहिलो साता प्रदेशको संक्रमणदर झण्डै ९० प्रतिशत नाघेको थियो भने अहिले २५ प्रतिशतमा झरेको छ । स्वास्थ्य सेवा निर्देशनालयका अनुसार असार यता भने संक्रमण स्थिर छ ।
निशेषाज्ञा खुकुलो पारिएसँगै कर्णालीमा कोभिड परीक्षण गर्नेको संख्या ह्वात्तै घटेको छ । केही दिनयता प्रदेशमा दैनिक दुई सयको हाराहारीमा मात्र कोरोना परीक्षण हुने गरेको छ । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा रविन खड्काका अनुसार पछिल्लो समय प्रदेशको संक्रमणदर २५ प्रतिशत रहेको छ । निर्देशक खड्काले परीक्षण गरिएकामध्ये २५ प्रतिशतमा संक्रमण पुष्टि हुने गरेको बताउनुभयो ।

निषेधाज्ञा खुकुलो पारिएपछि स्वास्थ्य सुरक्षाका मापदण्ड समेत पालना गरेको पाइँदैन । जसले गर्दा संक्रमण अपेक्षाकृत रूपमा घट्न नसकेको निर्देशनालयले जनाएको छ । अब कोरोना संक्रमणको तेस्रो लहर आउने सम्भावना रहेकाले स्वास्थ्य विज्ञहरूले थप सतर्कता अपनाउनुपर्ने बताएका छन् । निर्देशक डा खड्काले तेस्रो लहरको पूर्वतयारीका काम भइरहेको जनाउनुभयो । कार्ययोजना बनाएर प्रदेशभर कोरोना प्रतिकार्यका गतिविधि सञ्चालन हुने निर्देशक खड्काको भनाइ छ ।

प्रदेशमा हालसम्म एक लाख ५९ हजार नौ सय ११ जनाको कोभिड परीक्षण भएको थियो । जसमध्ये २९ हजार दुई सय ८९ जनामा संक्रमण पुुष्टि भएको छ । संक्रमण पुष्टि भएकामध्ये २७ हजार दुई सय ९५ जना संक्रमणमुुक्त भएका छन् । कोभिडका कारण कर्णालीमा हालसम्म तीन सय ४७ जनाको ज्यान गएको छ ।

  • ४ श्रावण २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech