स्वास्थ्यकर्मी तथा कर्मचारीद्धारा आजपनि नेपालगन्ज मेडिकल कलेजमा प्रदर्शन

    • स्वास्थ्य पेज

  • २ श्रावण २०७८, शनिबार

नेपाालगन्जः तलवभत्ता माग्दै आन्दोलनरत स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले आज शनिवार पनि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा प्रदर्शन गरेका छन् । प्रशासन, लेखा शाखा र एमडी कक्षमा तालाबन्दी गरेका उनीहरुले अस्पतालमा शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । आन्दोलनमा उत्रिएका कर्मचारीहरुले सेवा प्रवाहमा भने प्रभाव नपारेको बताएका छन् ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीले ३ महिनादेखि तलब नपाएका बताएका छन । डाक्टरहरुको भने चार महिनाकै तलब बाँकी रहेको बताएका छन् । आफुहरुको आन्दोलनलाई अस्पताल प्रशासनले धमक्याउन खोजेको भन्दै उनीहरु थप आक्रोसित भएका छन् । लर्ड बुद्ध एजुकेशन ऐकेडेमी कर्मचारी संगठनका उपाध्यक्ष सुमन गिरीले आफुहरुको माग सम्वोधन नभएसम्म आन्दोलन जारी रहने बताउनुभयो ।

नर्सिङ स्टाफ र कर्मचारीहरुले कोभिड भत्ता र खाजा भत्ता पनि नपाएकोे उनीहरुको गुनासो छ । सामाजिक सुरक्षा कोषमा स्वास्थ्यकर्मी र कर्मचारीको तलबबाट ११ प्रतिशत रकम कट्टा गरिए पनि कम्पनीको तर्फबाट थप २० प्रतिशत थप गर्नुपर्नेमा १६ महिनादेखि कोषमा दाखिला नभएको पनि उपाध्यक्ष गिरीले बताउनुभयो । अस्पताल प्रशासनले भने साउन पहिलो सातासम्म तलवभत्ता दिने बताएको छ ।

अस्पतालका उपनिर्देशक श्याम शर्माले एक हप्ताभित्र तलवभत्ता उपलब्ध गराउने प्रतिबद्धता जनाउनुभयो । स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले एकमुष्ट तलवभत्ता पाउनु पर्ने माग गर्दै आएका छन् ।

 

  • २ श्रावण २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech