यसरी बँच्न सकिन्छ वर्षायाममा लाग्ने रोगबाट

    • स्वास्थ्य पेज

  • १ श्रावण २०७८, शुक्रबार

वर्षायाममा पानी र हावाको माध्यामबाट विभिन्न रोगहरु लाग्ने भय हुन्छ । पानीजन्य रोगमा झाडापखाला धेरैलाई लाग्ने गर्छ । त्यस्तै हेपाटाइटिस, हैजा, टाइफाइड जस्ता रोगहरुले पनि वर्षायाममा गम्भिर स्वास्थ्य चुनौतीहरु दिने गर्छन् । वर्षायामले ब्याक्टेरिया, किराहरु र फंगल ग्रोथलाई पनि सहयोग गर्छ ।

के कस्ता रोगको भय ?

यसबेला गर्मी ठाउँमा डेंगु, मलेरियाको बढी भय हुन्छ । अहिले यसैपनि कोरोना सन्त्रास घटिसकेको छैन । त्यसमाथि डेंगु, मलेरियाको डर त छँदैछ । यसैगरी यो याममा पानीमा भिज्ने भएकाले रुघाखोकी, ज्वरोले पनि सताउन सक्छ । खानपानमा अरुची, अपच वा फुड पोइजनको समस्या देखिन सक्छ । पानीको माध्यामबाट हैजा, पखला आदि रोगहरु लाग्न सक्छ ।

मलेरिया

यो वर्षायाममा सबैभन्दा धेरैलाई लाग्ने रोग हो । वर्षायामको समयमा पानी जम्ने समस्या हुन्छ । यो समय लामखुट्टेको प्रजननको समय भएकाले जमेको पानीमा लामखुट्टेले फुल पार्छ र लामखुट्टेको सङ्ख्या बढ्छ । यो रोग पोथी एनोफेलिस लामखुट्टेले टोकेमा लाग्छ ।

रुघाखोकी र फ्लु

घाँटी खसखसाउने समस्याबाट सुरु हुने रुघा सुरुमा एक दुई दिन सम्म रहन्छ । त्यसपछि चौंथो र पाँचौ दिनमा नाकबाट पानी बगिरहन्छ र खोकी लाग्छ । बच्चाहरुलाई रुघा लागेको बेलामा ज्वरो पनि आँउछ ।

फ्लु रुघा खोकी भन्दा अलि गम्भिर हुन्छ । घाँटी खसखसाउने, ज्वरो आउने, टाउको दुख्ने जिउ दुख्ने र खोकी लाग्ने जस्ता समस्या देखिएमा यसको लक्षण भन्ने बुझ्नपर्छ । यी लक्षणहरु दुई देखि पाँच दिन सम्म देखिन्छ तर, कसैलाई एक हप्तासम्म पनि देखिन सक्छ । यदि तपाईलाई सास फेर्न गाह्रो हुन्छ भने बेलैमा डाक्टरलाई देखाउनुहोस् ।

हैजा

हैजा भिव्रियो कोलेरा नामक ब्याक्टेरियाको कारणले लाग्ने रोग हो । यो रोग ब्याक्टे्रियाबाट प्रदुषित पानीको स्रोतबाट खाना हँदै मानिसमा सर्छ । यो रोग लागेका मानिसलाई वान्ता हुने र शरीरमा पानीको मात्रा घट्ने जस्ता समस्या देखिन्छन् । त्यस्तै अन्य लक्षणहरु छाला चाउरी पर्ने, ब्लडप्रेसर लो हुने, मुख सुख्खा हुने र मुटुको धड्कन बढ्ने जस्ता समस्या हुन्छन् ।

लेप्टोस्पाइरोसिस

यो रोग लेप्टोस्पिरा भाइरसको कारणले लाग्ने गर्छ । छालामा घाउ भएका जनावरहरुको पिसाब पानीेमा फैलिएर मानिसहरुलाई यो रोग लाग्न सक्छ ।

लेप्टोस्पाइरोसिसले जिउ दुख्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा रातो हुने, पेट दुख्ने जन्डिस छाला चिलाउने, झाडाबान्ता हुन्छ ।

टाइफाइड

साल्मोनेला टाइफी नामक ब्याक्टेरियाबाट लाग्ने ज्वरोलाई टाइफाइड भनिन्छ । यो ब्याक्टेरिया संक्रमित खाना, पानी वा अन्य पेयको माध्यमले मानिसमा असर गर्छ । यो रोग लागेका मानिसको दिसाबाट यो रोग फैलन्छ ।

यो ब्याक्टेरिया तपाईको तपाईको आन्द्रा हुँदै रगतमा पुग्छ । यसले पित्तथैली, कलेजो, फियो जस्ता अंगहरुमा असर गर्छ । भोक नलाग्ने, टाउको दुख्ने, ज्वरो आउने र थकान महसुस हुने जस्ता लक्षण देखिन्छन् ।

यसरी बँच्न सकिन्छ वर्षायाममा लाग्ने रोगबाट

१. वर्षायाममा बाहिर जाँदा नभिज्न प्रयोग गर्ने छाता, रेनकोट, जुत्ता संधै तयारी अवस्थामा राख्नुहोस् । टोपी सहितको रेनकोट र वाटरप्रुफ जुत्ता उपयुक्त हुन्छ ।

२. पोषणयुक्त खाना खाने प्रयास गर्नुहोस र वर्षायाममा घरबाहिर खाना खान छोड्नुहोस् ।

३. घरमा खाना बनाउँदा पनि धेरै नै स्वस्थकर खाना बनाउनुहोस र सरसफाइमा ध्यान दिनुहोस् ।

४. खाना बनाउनको लागि र पिउनको लागि स्वच्छ पानी प्रयोग गर्नुहोस् । संधै पिउन अघि पानी उमाल्नुहोस् ।

५. खुल्ला भाँडोमा पानी नराख्नुहोस् किनभने त्यो लामखुट्टेको फुलपार्ने ठाँउ बन्न सक्छ । यदि लामो समयसम्म पानी खुल्ला भाँडामा राख्नुभएको छ भने त्यसलाई प्रयोग नगर्नुहोस् ।

६. ढलको पाइपहरु भरिएको छ कि छैन विचार गर्नुहोस् ।

७. केही रोगहरुको लागि भ्याक्सिन पाइन्छ । तपाईले आफ्नो डाक्टरसँग यसबारेमा कुरा गरेर कुन भ्याक्सिन लगाउने थाहा पाउनुहोस ।

८. यदि तपाई घरबाहिर खाना खानपर्यो भने स्वस्थ र ताजा खाना पाइने ठाँउमा मात्रै जानुहोस् ।

९. सम्भव भएसम्म तपाई बाहिर जाँदा उमालेको पानीको बोतल लिएर हिँड्नुहोस् ।

  • १ श्रावण २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech