कोरोना भाइरसविरुद्धको खोप कसैले किनबेच गरेको पाइएमा कडा कारवाही- स्वास्थ्य मन्त्रालय

    • स्वास्थ्य पेज

  • ३० असार २०७८, बुधबार

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप कसैले किनबेच गरेको पाइएमा कडा कारवाही गर्ने चेतावनी दिएको छ । औवध रुपमा खोप बेच्ने र किनेर लगाउने दुवैलाई प्रचलित कानुन बमोजिम कडा कारवाही हुने मन्त्रालयले जनाएको हो ।

कोरोना विरुद्धको खोप बेचबिखन भएको थाहा पाउने जो कोहीले स्थानिय प्रशासन, प्रहरी कार्यालय, पालिका वा स्वास्थ्य कार्यालयमा यथार्थ जानकारी गराउन मन्त्रालयले अनुरोध समेत गरेको छ । बजारमा लुकिछुपी बेच्न राखिएका खोपहरु नक्कली हुन सक्ने समेत मन्त्रालयले जनाएको छ । सरकारले लक्षित वर्ग अनुसार सबैलाई निःशुल्क रूपमा खोप लगाइरहेको छ।

अहिले भेरोसेलको पहिलो डोज र अमेरीकाबाट ल्याईएको जोन्सन एण्ड जोन्सनको खोप लगाउने अभियान सुरु भएको छ । भेरोसेलको पहिलो मात्रा ५५ वर्ष र सो माथिका उमेर समूहलाई लगाउन लागिएको हो। यस्तै विश्वविद्यालय, विद्यालयका प्राध्यापक, शिक्षक र कर्मचारीहरु, सार्वजनिक यातायातमा कार्यरत चालक र सहचालकलाई समेत भेरोसेलको पहिलो मात्रा खोप लगाउन पाउँनेछन्।

खोप अनिवार्य गरेका मुलुकमा जान लागेका नागरिक र नेपाल सरकारले तोकका अतयावश्यक सेवामा संलग्न खोप लगाउन बाँकी सबै नागरिकलाई पनि यो खोप दिन भनिएको छ । यस्तै एक मात्रा मात्र लगाए पुग्ने जन्सेन खोप ५० देखि ५४ वर्ष उमेर समूहका सबै नागरिकलाई दिइने छ ।

‘क’ र ‘ख’ वर्गका अपांगता भएका नागरिक, हाल नेपालमा बसोबास गरिरहेका शरणार्थीहरू र छुटेका स्वास्थ्यकर्मी तथा सफाइकर्मीहरूलाई पनि उक्त खोप दिइनेछ । अहिलेसम्म २६ लाख ११ हजारभन्दा बढीले खोपको पहिलो डोज र ११ लाखभन्दा बढीले दुवै डोज खोप लगाइसकेको बताईएको छ ।

 

 

  • ३० असार २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech