बाँके डेंगुको उच्च जोखिममा, कसरी जोगिने ?

    • स्वास्थ्य पेज

  • ३० असार २०७८, बुधबार

नेपालगन्जः बाँकेमा चालू आर्थिक वर्षमा पाँच जना डेंगुका विरामी भेटिएका छन् । नेपालगन्ज उपमहानगरपालिकाले आज डेंगु तथा अन्य किटजन्य रोग रोकथाम तथा लामखुट्टेको लार्भा नष्ट सम्बन्धि आयोजना गरेको अभिमुखिकरण कार्यक्रममा चालू आर्थिक वर्षको हालसम्म जिल्लामा पाँच जनामा डेंगु संक्रमण देखिएको जानकारी दिइएको हो ।

नेपालगन्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित एउटा ग्यारेजमा काम गर्ने मजदुर र पाहुनामा डेंगु देखा परेको स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकलपर्सन रत्नलाल शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार, आर्थिक वर्ष २०७६-७७ मा ९१ जनामा डेंगु देखिएको थियो भने ०७५–७६ मा २४ जनामा डेंगुका बिरामी फेला परेका थिए ।

सन् २००६ मा बाँकेमा पहिलो पटक डेंगुका बिरामी फेला परेका थिए । तातो हावापानी भएका शहर र सहरोन्मुख वस्तिमा डेंगु रोगको जोखिम बढी देखिएको छ । डेंगु, मलेरिया, चिकन गुन्या, कालाजार, स्क्रव टाइफसलगायतका किटजन्य रोगका कारण बाँके पनि उच्च जोखिममा छ ।

लामखुट्टेको टोकाईबाट सर्ने यी रोगबाट जोगिन बातावरण सरसफाईलाई पहिलो प्राथमिकता दिनुपर्ने नेपालगन्ज उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक सरोज रिमालले बताउनुभयो । डेंगु ज्वरो एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो ।

डेंगुको भाइरसबाट संक्रमित लामखुट्टेको टोकाइले यो रोग सार्छ । यो लामखुट्टेले विशेषगरी दिउँसो मात्र टोक्ने गर्छ । बर्सातको समयमा सुरु भएपछि डेंगु ज्वरोको प्रकोप बढ्न थाल्छ ।

डेंगुको लक्षण
–ज्वरो आउने
–आँखाको गेडी दुख्ने
–शरीरमा डाबर आउने
–बेस्सरी टाउको दुख्ने
–अरुचि हुने
–पेट तथा आन्द्रामा गडबडी हुने
–जोर्नी तथा मांसपेशी बेस्सरी दुख्ने

बच्ने उपाय

–लामखुट्टेको टोकाइबाट जोगिनु
–झ्याल तथा ढोकामा जाली लगाई बन्द राख्ने
– पूरा शरीर ढाकिने गरी कपडा लगाउने
–राति र दिउँसो पनि झुलभित्र सुत्ने

  • ३० असार २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech