अर्थमन्त्रीको पहिलो निर्णय: खोप खरिदका लागि ५ अर्बको सहमति

    • स्वास्थ्य पेज

  • ३० असार २०७८, बुधबार

काठमाडौं: अर्थमन्त्री जनार्दन शर्माले खोप खरिदका लागि ५ अर्ब रुपैयाँको सहमति सहित तीनवटा निर्णय गर्नुभएको छ । मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले कोरोनाविरुद्धको खोप खरिदका लागि ५ अर्ब उपलब्ध गराउने निर्णयमा हस्ताक्षर गर्नुभएको हो ।

पदभार ग्रहणका क्रममा उहाँले कुल चार वटा फाइल सदर गर्नुभएको छ । यस्तै उहाँले आईसीयू, भेन्टिलेटरलगायत कोरोनाविरुद्धका स्वास्थ्य उपकरण खरिद गर्न मन्त्रालयले यसअघि दिएको सहमतिअनुसारको काम गरेपछि रकम निकासा गर्ने निर्णय गर्नुभएको छ ।

यसका लागि संघीय तथा निजी अस्पतालका लागि ९६ करोड १२ लाख ११ हजार रुपैयाँ उपलब्ध हुनेछ । कोभिड सम्बन्धी विभिन्न दायित्व, अस्पतालको सोधभर्ना र जोखिमभत्ता समेतका लागि संघीय स्तरका लागि ५६ करोड ४१ लाख र प्रदेश र स्थानीय तहमा जाने गरी ३७ करोड २४ लाख रुपैयाँ निकासाको फाइल समेत अर्थमन्त्री शर्माले सदर गर्नुभएको छ ।

पदभार ग्रहणपछि उहाँले कोभिड–१९ ले असर पारेको अर्थतन्त्रलाई पुनरुत्थान गर्नुपर्ने चुनौती थपिएको बताउनुभयो । आर्थिक वृद्धि कमजोर रहेको र कोरोनाका कारण अर्थतन्त्रमा परेको असर कम गराउने काम गर्नुपर्ने उहाँले बताउनुभयो ।

  • ३० असार २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech