नेपालगन्जः कञ्चनपुरमा पछिल्लो एक साताको अवधिमा निको हुनेभन्दा संक्रमित हुने दर बढ्दै गएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गएको आइतबारदेखि बजार व्यवसाय र यातायात बिहान ६ देखि साँझ ६ बजेसम्म खुला रहने निर्णय गरेको थियो ।
सोही निर्णय लागू भएकै दिनदेखि संक्रमितको संख्या बढ्दै गएको तथ्यांकले देखाएको छ । निषेधाज्ञा खुकुलो हुनुअघिसम्म जिल्लामा सक्रिय संक्रमितको संख्या ८० पुगेको थियो । अहिले बढेर १ सय १३ पुगेको छ । निषेधाज्ञा खुकुलो भएपछि संक्रमण केही बढेजस्तो देखिएको जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरको प्रमुख शिवराज सुनारले बताउनुभयो ।
उहाँले परीक्षणको दायरा बढाएका कारण पनि संक्रमित बढी देखिएको हुन सक्ने बताउनुभएकोछ । स्वास्थ्य कार्यालयका अनुसार अहिले पालिकाहरूमा मात्रै दैनिक २ सय बढीको एन्टिजेन परीक्षण हुने गरेको छ । जिल्लाका ९ वटै स्थानीय तहमा एन्टिजेन परीक्षण भइरहेको उहाँले बताउनुभयो ।
जिल्ला प्रशासन कार्यालयले असार २१ गतेसम्म निषेधाज्ञा जारी गरेको छ । तर, बजार भने बिहान ७ देखि दिउँसो ३ बजेसम्म खुला गरिएका छन् । सार्वजनिकस्थल, अस्पताल, बैंक, स्थानीय तहका कार्यालयमा भीडभाड बढिसकेको छ । निषेधाज्ञा खुकलो भएसँगै आवतजावत बढ्ने र संक्रमण दर फैलिन सक्ने स्वास्थ्यकर्मी बताउँछन् ।