४६ जना स्वास्थ्यकर्मी ७४ दिनदेखि बेकामे, तलवभत्ता पनि अनिश्चित

    • स्वास्थ्य पेज

  • १८ असार २०७८, शुक्रबार

नेपालगन्जः सुर्खेत वीरेन्द्रनगर नगरपालिकामा कार्यरत ४६ जना स्वास्थ्यकर्मी ७४ दिनदेखि कामविहीन भएका छन् । स्वास्थ्य मन्त्रालयबाट सरुवा भई आएका उनीहरुलाई नगरपालिकाले हाजिर नलाउँदा वेकामे भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले समायोजन मिलान गरि पठाएका ४९ स्वास्थ्यकर्मीमध्ये नगरपालिकाले ३ जनालाई मात्रै काममा खटाएको र बाँकीलाई कुनैपनि जिम्मेवारी दिएको छैन् । ती ३ जना चैतमा हाजिर भएका थिए ।

सबै कर्मचारी समायोजन मिलनसम्बन्धी मापदण्ड–२०७७ बमोजिम नै सरुवा भई आएका हुन् । दुवै पालिकाको सहमति भएर आफुहरु आएपनि अहिलेसम्म नगरपालिकाले हाजिर नलगाएको जनस्वास्थ्य निरीक्षक चर्तुभूज गौतमले बताउनुभयो । उहाँले आजसम्म माग सम्वोधन नभए न्यायलय पुग्ने चेतावनी दिनुभयो ।

‘अहिलेसम्म हामीलाई वेकामे बनाइयो उहाँले स्वास्थ्य पेजसँग भन्नुभयो–‘साथीहरुसँग छलफल गरेर रिट हाल्ने तयारीमा छौं ।’ मन्त्रालयले लिखित रुपमा पटक पटक हाजिर गराई नियमीत कामकाजमा खटाउन निर्देशन दिएको भएपनि अहिलेसम्म पनि आफुहरुलाई काममा नलगाइएको भन्दै रुष्ट भएका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले दरबन्दीभन्दा बढी कर्मचारी आउँदा समस्या भएको बताउनुभयो । नगरपालिकामा ३८ स्वास्थ्यकर्मीको दरबन्दी छ ।

अहिले थप ५३ स्वास्थ्यकर्मी सरुवा भएर आएपछि समस्या भएको उहाँको भनाइ छ । नगरपालिकाले सहरी स्वास्थ्य क्लिनिकका लागि १६ जना माग गरेकोमा ५३ जनालाई पठाइएकोले समस्या भएको बताउनुभयो । ‘मन्त्रालयले पालिकाबाटै तलव खुवाउनेगरी परिपत्र गरेको छ उहाँले स्वास्थ्य पेजलाई भन्नुभयो–‘हामी तलव खुवाउने स्थितिमा छैनौं ।’

उहाँले एक दुई दिनमा समस्या समाधानको बाटो खोजिने पनि उल्लेख गर्नुभएको छ । स्थानिय तहबाटै तलवभत्ता खुवाउनेगरी हाजिर लगाउनु भनेपछि समस्या भएको उहाँको भनाइ छ ।

समायोजनका लागि ५३ जनाले फारम भरेपनि ४ जना भने नआएको बताइएको छ । स्वास्थ्य मन्त्रालयको गत चैत २६ गते मन्त्रीस्तर र चैत ३१ गतेको सचिव स्तरको निर्णय अनुसार समायोजन मिलान गरि ती स्वास्थ्यकर्मीलाई वीरेन्द्रनगर पठाइएको थियो ।

हाजिर हुन नपाउँदा उनीहरुले तलबभत्ता पाउन सकेका छै्रन् । ३ जनाले चैत महिनादेखि र ४६ जनाले बैशाख महिनादेखि तलव नपाएको बताएका छन् ।

 

 

  • १८ असार २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech