गर्भवती र सुत्केरी भए गुराँसमा पाइन्छ कुखुरा र अण्डा

    • स्वास्थ्य पेज

  • १७ असार २०७८, बिहीबार

दैलेखः गर्भवती महिलाको पोषणमा सुधार गर्नको लागि गुराँस गाउँपालिकाले गर्भवती महिलालाई कुखुरा र अण्डा प्रदान गर्ने गरेको छ । गाउँपालिकामा भएका गर्भवती तथा सुत्केरी महिलालाई घरमै गएर कुखरा र अण्डा प्रदान गर्दै आएको छ । गर्भवती महिलासँग उपाध्यक्ष कार्यक्रम अन्र्तगत कुखुरा प्रदान गरिदै आएको गाउँपालिकाले जनाएको छ ।

गर्भवती भएदेखि हजार दिनसम्मका सुत्केरी महिलाको पोषण तथा स्याहारमा सुधार होस् भन्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका उपाध्यक्ष दिपा विसीले बताउनुभयो ।

‘गर्भवती तथा सुत्केरी अवस्था भनेको संवेदनशिल अवस्था हो त्यसैले यो अवस्थामा विशेष ध्यान दिनुपर्छ भनेर हामी अभियानमा लागेका छौ’ उपाध्यक्ष विसीले भन्नुभयो–‘गर्भवती भएदेखि हजार दिनसम्मको अवस्थामा विशेष ख्याल राख्नुपर्ने भएकाले पनि यो अवस्थासम्मलाई विभिन्न कार्यक्रम ल्याएका छौ ।’

गर्भवती तथा सुत्केरी अवस्थाका महिलालाई भेटघाट गर्नुका साथै उनीहरुको स्वास्थ्यमा विशेष ख्याल राख्नको लागि घरपरिवारका सदस्यहरुलाई समेत सचेतना गराइदै आएको विसीले बताउनुभयो । गाउँपालिकाले प्रसुती अवस्थाका महिला र बच्चालाई न्यानो कपडा पनि प्रदान गर्दै आएको छ । सुत्केरी भएका महिलालाई पेटीकोट साडी र चोलो समेत दिने गरिएको छ भने बच्चालाई न्यानो कपडा समेत प्रदान गर्ने गरिएको उहाँले बताउनुभयो ।

गाउँपालिकामा रहेका गर्भवती तथा सुत्केरी महिलालाई कुखुरा अण्डा वितरणपछि गाउँमा गर्भवती र सुत्केरी अवस्थाका महिलालाई पोषिलो खाना खुवाउनुपर्छ भन्ने भावनाको विकास भएको छ ।

त्यसैगरि गर्भवती अवस्थामा चार पटक परिक्षण गर्ने र प्रसुती हुन स्वास्थ्य संस्थामा नै जाने गरेको महिला स्वास्थ्य स्वयंसेवीकाको भनाई छ । उनीहरुका अनुसार पछिल्लो समय गाउँपालिकाका सबै महिला प्रसुती हुन स्वास्थ्य संस्थामा नै जाने गरेका छन् । हजार दिनका आमाको लागि विशेष हेरचाहको कार्यक्रम सञ्चालन गरेयता गाउँपालिकामा मातृमृत्युदरमा समेत कमी आएको छ ।

  • १७ असार २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई healthpage0@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech