सर्पको बिगबिगी: यसरी जोगिन सकिन्छ !

    • स्वास्थ्य पेज

  • ११ असार २०७८, शुक्रबार

नेपालगन्जः बर्खायाम सुरु भएसँगै सर्पदशंको विगविगी बढेको छ । बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुरलगायत तराई र वनजंगल क्षेत्रसँग जोडिएका जिल्लाहरुमा सर्पदंशको विगविगी बढेको हो ।

बर्खायाम सुरु भएपछि भेरी अस्पताल नेपालगन्ज र सुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा दैनिक ३/४ जना सर्पदंशका विरामी आइरहेको अस्पतालले जनाएका छन् । बैशाख अन्तिम सातादेखि हालसम्म ५७ जना सर्पदंशका विरामी अस्पताल आएका छन् । त्यसमध्येमा ७ जनालाई आईसीयूमा राखेर उपचार गरिएको खजुरा क्यान्सर अस्पतालका निर्देशक समेत रहनुभएका एनेस्थेसियोलोजिष्ट डा कृष्ण आचार्यले जानकारी दिनुभयो ।

ती विरामीलाई विषालु सर्पले डसेको थियो । अन्यलाई भने कम विष भएको सर्पले डसेको डा आचार्यले बताउनुभयो । सर्पदंशको उपचार हुँदै आएको भेरीमा कोभिडका विरामीहरुले आइसीयू र भेन्टिलेटर भरिएपछि विकल्पकारुपमा खजुरा क्यान्सर अस्पतालमा बैशाख २७ गतेदेखि सर्पदंशका विरामीको उपचार सुरु भएको हो ।

यी अस्पतालमा बाँकेसहित दाङ, बर्दिया, कैलाली र कञ्चनपुरबाट सर्पदंशका विरामी आइरहेका छन् । उपचारका लागि ल्याउँदै गर्दा एकजनाको बाटोमा मृत्यु भएको भएपनि अस्पताल पु¥याएका कसैको पनि यो आर्थिक वर्षमा मृत्यु नभएको अस्पतालहरुले बताएका छन् । चिसो र सुक्खा मौसममा दुलोभित्र रहने सर्प गर्मीसँगै बर्खायाम सुरु भएपछि बाहिर निस्कने गर्छन्।

यो मौसममा सर्पको टोकाइको जोखिम बढी हुने भएकाले घर वरिपरि सरसफाइमा ध्यान दिन, राती हिड्दा टर्चलाइट लिएर मात्रै हिड्न, दाउराघाँस गर्दा विशेष सावधानी अपनाउन र राती सुत्दा भुइँमा नसुत्न, झुल टाँगेर मात्रै सुत्न चिकित्सकहरुको सुझाव छ । यदी सर्पले टोकिहाले नआत्तिन र तत्काल अस्पताल जान पनि चिकित्सकको सुझाव छ ।

लक्षण
विषविहीन सर्पले टोक्दा पनि मानिस आत्तिने कारण पनि विभिन्न लक्षण देखिन्छन् । आत्तिँदा हृदयाघात हुने, छिटो–छिटो सास फेर्ने, टोकेको – ठाउँमा घोचेको महसुस हुने, हात खुट्टा बाउँडिने वा नचल्ने, बेहोस हुने आदि हुन्छ । कतिपयमा टोकेको ठाउँवरपर सुन्निने हुन सक्छ । रक्तश्राव, नीलो हुने वा फोका उठ्ने, संक्रमण वा नेक्रोसिस हुने गर्छ । त्यस्तै, बिषालु सर्पले टोकेमा बान्ता हुने, आँखाको परेला उठाउन गाह्रो हुने, स्वादमा भिन्नता आउने, घाँटी भाँचिने, नाडी छिटो–छिटो चल्ने, सास फेर्न गाह्रो हुनेजस्ता समस्या देखिन्छन् ।

सर्पले टोकेमा ?

बिरामी आत्तिएर अन्य समस्या देखिन सक्छन् । तसर्थ, बिरामीलाई शान्त पार्नुपर्छ । सबै सर्प बिषालु हुँदैनन् भनेर बुझाउनुपर्छ ।
बिरामीलाई सजिलोगरी भुइँमा सुताएर लुगा खुकुलो बनाउनुपर्छ । टोकेको ठाउँवरिपरि प्रेसर ब्यान्डेज लगाउन सकिन्छ । घाउ बढी चलाउनुहुँदैन । चलाएमा विष मांसपेशीमार्फत रगतमा मिसिन सक्ने भएकाले सजग हुनुपर्छ । टोकेको सर्पलाई मार्नतर्फ लाग्नुहुँदैन । मार्न थाल्दा अन्य दुर्घटना निम्तिन सक्छ । टोकेको ठाउँमा रबर वा डोरीले कडा गरी बाँध्नुहुँदैन, ताकि रक्तसञ्चारमा अवरोध नआओस् ।
घाउमा कुनै पनि औषधि वा रसायनको प्रयोग गर्नुहुँदैन । सकेसम्म छिटो स्वास्थ्य संस्थामा लैजानुपर्छ । बिरामी सम्हालिन गाह्रो हुने भएकाले अरूको साथ जान आवश्यक हुन्छ ।

टोकाइबाट बच्ने उपाय

घर तथा खेल मैदानवरिपरि सफा राख्ने तथा झाडी, ढुंगा, हिलो तथा पातको थुप्रो बनाएर नराख्ने । ढुंगा वा कुनै वस्तु थुपारेर राखेको ठाउँमा काम गर्दा सजग हुने । खुला ठाउँ तथा भुइँमा सकभर नसुत्ने र सुतेमा अनिवार्य झुल लगाउने गर्नुपर्छ । त्यस्तै, खेतबारी वा बाहिर काम गर्दा शरीर पूरै छोपिने लुगा लगाउनुपर्छ । राति अँध्यारोमा हिँड्दा सजग हुनुपर्छ । सकभर बत्ती बालेर वा लौरो टेकेर हिँड्नुपर्छ । सर्प हुन सक्ने ठाउँबारे बालबालिकालाई सचेत गराउनुपर्छ । त्यस्तै, बिषालु सर्पको टोकाइबाट हुन सक्ने समस्याबारे जानकारी दिनुपर्छ ।

  • ११ असार २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech