नेपालमा कोरोना संक्रमणबाट १७ चिकित्सक र ४० स्वास्थ्यकर्मीको निधन

    • स्वास्थ्य पेज

  • ११ असार २०७८, शुक्रबार

तस्बिर:फाइल

नेपालगन्जः नेपालमा कोरोना भाइरस संक्रमणबाट १७ जना चिकित्सकको निधन भएकोछ । पहिलो र दोस्रो लहरको भाइरस संक्रमणबाट हालसम्म १७ चिकित्सकको निधन भएको जानकारी नेपाल चिकित्सक संघले दिएको हो ।

दोस्रो लहरमा मात्रै ११ चिकित्सकको निधन भएको छ । डा आइएल आचार्य, मुकेश चौधरी, डा तारा श्रेष्ठ, डा केशवराज भट्टराई, डा पुज्यश्री कार्की , डा मुरत हुसेनले दोस्रो चरणमा महामारीमा ज्यान गुमाउनुभएको हो । त्यस्तै डा केपी सिंह, डा मोहम्मद समन अन्सारी, डा पशुपति रजौरिया, डा विकास सुवेदी र डा कनक बहादुर रावतले पनि कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनुभयो ।

निधन हुनु भएका अधिकांश चिकित्सक युवा भएको र अधिकांशले कोरोना खोप नलगाएको पनि संघले जनाएको छ । पहिलो लहरमा डा हरिप्रसाद सापकोटा, डा पशुपति चौधरी, डा नारायणबहादुर थापा, डा सुनिलचन्द्र झा, डा धुव्र मुडभरीलगायतले ज्यान गुमाउनुभएको थियो ।

त्यस्तै कोरोना भाइरस संक्रमढाबाट हालसम्म ४० स्वास्थ्यकर्मीको निधन भएको छ । ८,८७१ स्वास्थ्यकर्मी संक्रमित हुँदा ४० जनाको निधन भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सबैभन्दा धेरै वाग्मती प्रदेशमा ५,५६८ र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २५१ जना संक्रमित भएका छन् । प्रदेश नं १ मा १,१५५, लुम्बिनीमा ८०४, प्रदेश नं २ मा ५१२, कर्णालीमा ३१० र गण्डकी प्रदेशमा ३०१ स्वास्थ्यकर्मी संक्रमित भइसकेका छन्। कोभिडका कारण ज्यान गुमाउने स्वास्थ्यकर्मीहरू पनि वाग्मतीमा ११ जना छन्।

जसमध्ये चिकित्सक ७, नर्स २ र स्वास्थ्यकर्मी २ जना छन्। संक्रमणका कारण प्रदेश नं २ मा १० जना, लुम्बिनीमा ६ जना र प्रदेश नं १, कर्णाली र सुदूरपश्चिम प्रदेशमा दुई–दुई जना स्वास्थ्यकर्मीले ज्यान गुमाइसकेका छन ।

मन्त्रालयका अनुसार गण्डकीमा हालसम्म कसैको मृत्यु भएको छैन् ।

  • ११ असार २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech