नेपालगन्जमा निषेधाज्ञाको आज दुई महिनाः अव जोखिम कति ?

    • स्वास्थ्य पेज

  • ९ असार २०७८, बुधबार

तस्विरः फाइल

नेपालगन्जः कोरोना भाइरसको दोस्रो लहर सुरु भएसँगै नेपालगन्जमा निषेधाज्ञा गरेको आज ठिक दुई महिना पुगेको छ । नेपालगन्जमा गएको बैशाख ९ गते निषेधाज्ञा जारी गरिएको थियो । त्यसको चार दिन पछि १३ गते भने बाँके जिल्लामा पुरै निषेधाज्ञा जारी भएको थियो ।

दोस्रो लहर सुरु भएपछि बाँकेमा २ सय ५२ जनाको मृत्यु भएको छ । यो अवधिमा १२ हजार ३ सय ३९ जना संक्रमित भएका छन् भने १२ हजार ४५ जना डिस्चार्ज भएका छन् ।

अहिले जिल्लामा ४२ संक्रमित विरामीको उपचार भइरहेको जिल्ला कोभिड व्यवस्थापन समितिले जनाएको छ । भेरीमा ३५ जना, नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा ५ जना र वष्टर्न अस्पतालमा २ जनागरी ४२ जना संक्रमितको उपचार भइरहेको समितिले जनाएको छ । पहिलो लहरमा बाँकेमा ५८ जनाको मृत्यु भएको थियो ।

गएको चैत अन्तिमसम्म जिल्लामा ५ हजार २१ जनामा संक्रमण भएको थियो । बाँकेमा पहिलो र दोस्रो लहरमा गरी ३ सय १० जनाको मृत्यु भएको छ ।

भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै स्थानीय प्रशासनले गएको बैशाख १३ गतेदेखि जारी गरेको निषेधाज्ञा अझैपनि कायमै छ । भेरी अस्पताल नेपालगन्जका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा राजन पाण्डेले संक्रमण घट्दै गएपनि जोखिम कायमै रहेको बताउनुभयो ।

उहाँले संक्रमण नियन्त्रणमा आइसकेकाले अव निषेधाज्ञा विस्तारै हटाउनु पर्ने बताउनुभएको छ । तर उहाँले स्वास्थ्य मापदण्डको पूर्णपालना गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले पहिलो चरणपछि गरिएको हेलचेक्र्याइले दोस्रो चरणमा क्षती व्यहोर्नु परेको भन्दै अव सचेत रहन आवश्यक रहेको पनि बताउनुभयो ।

  • ९ असार २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech