गरिब देशमा खोपको गम्भीर अभाव : डब्लुएचओ

    • स्वास्थ्य पेज

  • ८ असार २०७८, मंगलवार

नेपाालगन्जः विश्वका धेरै गरिब देशहरुले कोरोना भाइरसविरुद्धको खोप अभावमा खोप अभियान जारी राख्न नसकेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले बताएको छ ।

खोपको समान पहुँच सुनिश्चित गर्नका लागि सुरु गरिएको कोभ्याक्स अभियान अन्तर्गत खोप पाइरहेका धेरै गरिब देशहरुमा अहिले कोरोना भाइरसविरुद्धको खोपको अभाव रहेको र ती देशमा खोप अभियान रोक्नु पर्ने बाध्यता रहेको डब्लुएचओको भनाई छ ।

डब्लुएचओका उच्च सल्लाहकार डा ब्रुस अयल्वार्डका अनुसार कोभ्याक्स कार्यक्रम अन्तर्गत हालसम्म विश्वका १३१ देशलाई खोपको ९ करोड मात्रा प्रदान गरिएको छ ।

तर यो मात्रा विश्वव्यापी रुपमा अहिले पनि फैलिरहेको कोरोना भाइरसको संक्रमणबाट मानिसहरुलाई जोगाउनका लागि कुनै पनि अवस्थामा पर्याप्त नरहेको उनले बताएका छन् ।

अफ्रिकी देशहरुमा कोरोना भाइरस महामारीको तेस्रो लहर देखिँदा खोपको अभाव भएको हो । सोमबार दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले धनी देशहरुलाई खोपमा गरिरहेको अवरोध अन्त्य गर्न अपील गरेका थिए । उनले आफ्नो देश संक्रमण नियन्त्रणको प्रयासमा गम्भीर रुपले जुधिरहेको बताउँदै खोप पाउने व्यवस्था गर्न धनी देशहरुसँग आग्रह गरेका हुन् ।

अफ्रिका महादेशमा अहिलेसम्म कोरोना भाइरसविरुद्धको खोपको मात्रै चार करोड मात्रा लगाइएको छ । यो कुल जनसंख्याको दुई प्रतिशत भन्दा कम हो । कोभ्याक्स अन्तर्गतको खोप उत्पादनका लागि क्षेत्रीय हब बनाइनु पर्ने रामाफोसाले बताएका छन् ।

धनी देशहरुले गरिब देशका लागि खोप खरिद गरेर समान रुपमा वितरण गर्ने उद्देश्यसहित गएको वर्ष कोभ्याक्स अभियान घोषणा भएको थियो ।

डब्लुएचओको नेतृत्वमा अरु अन्तर्राष्ट्रिय संगठनहरुको साथ रहेको कोभ्याक्स अन्तर्गत सन् २०२१ को अन्त्यसम्ममा विश्वभर खोपको दुई अर्ब मात्रा वितरण गर्ने लक्ष्य तय गरिएको थियो । तर सो लक्ष्य पूरा हुने अवस्था देखिएको छैन ।

गरिब देशका कम्तीमा २० प्रतिशत जनताका लागि खोप उपलब्ध गराउने कोभ्याक्स अभियानको लक्ष्य छ । तर उत्पादनमा भएको ढिलाइले आपूर्तिमा गम्भीर असर परेको छ । नेपालसहित विश्वका धेरै देशले कोभ्याक्स अन्तर्गतको थप खोप पाउन सकेका छैनन् ।

धनी देशहरुमा भने खोप अभियान तीव्र गतिमा जारी छ ।

  • ८ असार २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech