बाढी प्रभावित सिन्धुपाल्चोकमा देखिन थाल्यो संक्रामक रोग

    • स्वास्थ्य पेज

  • ७ असार २०७८, सोमबार

सिन्धुपाल्चोक : वर्षायाम सुरु भए सँगै आएको बाढीका कारण सिन्धुपाल्चोक जिल्लामा ठूलो क्षति पुगेको छ । दिनहुँ भइरहेको वर्षाले बाढी अझै रोकिएको छैन । विस्थापितहरू सामूहिक रूपमा शिविरमा बसिरहेका छन् । बाटोघाटो, पुलपुलेसा सबै भत्किएका छन् । जमिन कहाँ छ खोज्नुपर्ने अवस्था छ ।

कोरोना महामारीका बाीच आइपरेको प्राकृतिक विपतले ती क्षेत्रमा झन् संक्रमण फैलन सक्ने जोखिम बढेको छ । स्वस्थकर खाना र पानीको अभावले त्यस क्षेत्रमा हाल पानीजन्य रोग समेत देखिन थालेको छ । सिन्धुपाल्चोकका एकै घरका ५ जनामा झाडापखालाको समस्या देखिएको छ । हाल उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको सिन्धुपाल्चोकका स्वास्थ्य कार्यालय प्रमुख दुर्गादत्त चापागाईं बताउनुहुन्छ ।

स्वस्थकर खाना र पानीको व्यवस्था नभएका कारण अन्य रोगहरू फैलन सक्ने सम्भावना पनि उच्च रहेको स्वास्थ्य कार्यालय प्रमुख चापागाईंले बताउनुभयो । पानीजन्य रोगहरू ब्यापक रूपमा नफैलिए पनि जोखिम बढेको उहाँको भनाइ छ ।

बाढीका कारण प्रभावित स्थानको आवतजावतमा कठिनाइ भएकाले सामान्य स्वास्थ्य उपचारका समेत समस्या देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । बाढीका कारण धेरै व्यक्ति एकै स्थानमा बस्नुपर्ने बाध्यात्मक अवस्था छ । यस्तो अवस्थामा स्वास्थ्य सुरक्षा सावधानी अपनाउन पनि सम्भव भएकाले कोभिड–१९ फैलिए नियन्त्रणमा पनि ठूलो चुनौती आउन सक्ने प्रमुख चापागाईंले बताउनुभयो ।

हेलम्बुमा दरबन्दीका एकजना पनि चिकित्सक छैनन् । चिकित्सक नभएका कारण आकस्मिक स्वास्थ्य सेवा प्रवाहमा केही समस्या भएकाले चिकित्सक उपलब्ध गराइदिन कार्यालयले केन्द्र सरकारसमक्ष माग गरेको छ । समस्याग्रस्त क्षेत्रहरूमा संक्रामक रोग फैलिन नदिन तत्काल बसोबास र स्वास्थ्य सतर्कतामा ध्यान दिन जरुरी छ ।

  • ७ असार २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech