बाढी पहिरोको जोखिमसँगै पानीजन्य रोगहरुको खतरा बढ्न सक्ने भन्दै सचेत रहन मन्त्रालयको अपिल

    • स्वास्थ्य पेज

  • ३ असार २०७८, बिहीबार

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाढी पहिरोको जोखिम बढेसँगै पानीजन्य रोगहरुको खतरा बढ्न सक्ने भन्दै सचेत रहन सबैमा आग्रह गरेको छ । बाढी पहिरोबाट पानीजन्य रोगहरुको खतरा बढ्न सक्ने भएकोले सबैलाई सचेत रहन मन्त्रालयले आग्रह गरेको हो ।

केही दिनदेखि परेको अविरल वर्षाका कारण धेरै स्थानमा बाढीपहिरो जाँदा पानीका मुहानहरु दुषित हुने र सरसफाइसम्बन्धी जनस्वास्थ्यका समस्याहरु झनै बढ्न सक्ने भन्दै सबै नागरिक सजक हुनु जरुरी रहेको मन्त्रालयले जनाएको हो ।

मन्त्रालयका सहप्रवक्ता समिरकुमार अधिकारीले आज एक विज्ञप्ती जारी गर्दै बाढी पहिरोको जोखिमसँगै कोभिड–१९ संक्रमण, पानीजन्य रोगहरु, लामखुट्टेले हुने रोगहरु, सरसफाइसम्बन्धी जनस्वास्थ्यका समस्याहरु झनै बढन सक्नेतर्फ सबै सजग हुनु जरुरी देखिएको बताउनुभएको छ ।

उद्धार, राहत आदि कार्यहरुमा जुट्दा कोभिड–१९ विरुद्ध जनस्वास्थ्यका मापदण्डहरुको ख्याल गरी पालना गर्न गराउन, सफा पिउने पानीको प्रवन्ध गर्न, उपयुक्त गाँस र वासको प्रवन्धसँगै, सरसफाइ तथा लामखुट्टेको टोकाइबाट बच्ने उपायहरुमा ध्यान दिन मन्त्रालयले अनुरोध गरेको छ ।

मन्त्रालयले जनस्वास्थ्यको सुरक्षाका लागि आवश्यक औषधि, उपकरण, स्वास्थ्यकर्मीको व्यवस्थापनका लागि स्थानीय जिल्ला स्वास्थ्य कार्यालय र प्रदेशका सम्बन्धित निकायहरु मार्फत स्वास्थ्य आपतकालिन केन्द्रहरूले समन्वय गरिरहेको समेत जनाएको छ ।

अहिलेको विषम परिस्थितमा घाइते, संक्रमित तथा प्रभावितहरुको उपचारका लागि आवश्यक सबै प्रवन्ध मिलाउने कार्य मन्त्रालयले गरिरहेको डा अधिकारीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।

  • ३ असार २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech