पूर्वप्रधानमन्त्री खनाललाई थप उपचारका लागि दिल्ली लगियो

    • स्वास्थ्य पेज

  • २ असार २०७८, बुधबार

काठमाडौंः पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचार गराउन दिल्ली लगिएको छ ।

पूर्वप्रधानमन्त्री खनाल सोमबार नर्भिक अस्पताल भर्ना हुनुभएको थियो । अस्पतालका अनुसार खनाललाई साढे १२ बजे नर्भिकबाट दिल्लीतर्फ लगिएको हो । पोस्ट कोभिडका बिरामी खनाललाई फोक्सोमा पानी जमेको र रगतमा संक्रमण अस्पतालको भनाइ छ ।

अस्पताल भर्ना भएदेखि अक्सिजन सपोर्टमा रहेका खनाललाई क्रोनिक निमोनियाको शंका गरी उपचार गरिएकोमा परवारकै सल्लाहमा दिल्ली पठाइएको अस्पतालका जनसम्पर्क अधिकारी सोमनाथ बास्तोलाले जानकारी दिनुभयो ।

बास्तोलाका अनुसार खनाललाई मिर्गौलाको पुरानो समस्या छ । ‘हिजो उहाँलाई २ पिन्ट रगत चढाउन लागिएको थियो तर शरीरले एक पिन्ट भन्दा बढी लिन सकेन् । ‘कोभिडपछि शरीरका विभिन्न अंगहरुमा क्षति गर्छ उहाँलाई भएको त्यही हो, उहाँले भन्नुभयो, मिर्गौलाको पुरानो बिरामी भएकाले मिर्गौलामा पनि असर गरेको भन्न सकिन्छ, सबै रिपोर्टहरु आउन बाँकी छ ।’

अस्पतालका अनुसार खनालको ज्वरो घटेको छैन भने लगातार खोकी लागिरहेको छ । शरीर शिथिल भएर काम छुट्ने भएकाले क्रोनिक निमोनियाको शंका गरिएको छ ।

गत वैशाखमा खनाललाई कोरोना संक्रमण देखिएको थियो । त्यतिबेला उहाँ १० दिन नर्भिक अस्पतालमा नै उपचारपछि संक्रमणमुक्त भई वैशाख २७ मा घर फर्किनुभएको थियो ।

  • २ असार २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech