गर्मीमा कस्ता फलफूल खाने ?

    • स्वास्थ्य पेज

  • २८ जेष्ठ २०७८, शुक्रबार

केही दिनयता तराईका जिल्लासहित देशभर नै गर्मी बढेको छ । यस्तो गर्मीको समयमा शरीरलाई शीतल दिन फलफूल खानु लाभदायक मानिन्छ । दैनिकजसो फलफूल खान सके यसले शरीरलाई शीतल दिनुको साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउँछ । धेरैजसो फलफूलमा पानीको मात्रा बढी हुन्छ । पानीको मात्रा बढी भएका फलफूल गर्मीको समयमा खानु निकै फाइदाजनक हुने डाक्टरहरु बताउँछन् ।

काँक्रो : काँक्रो गर्मीमा धेरै खाइने फलफूलमध्ये एक हो । यसमा भिटामिन ए, बी १, बी ६, सी, डी, पोटासियम, फस्फोरस, आइरन अत्याधिक पाइने हुँदा काँक्रो नियमित सेवन गर्नाले मधुमेह र रक्तचाप जस्ता समस्याबाट बच्न सकिन्छ । काँक्रोमा पाइने विभिन्न तत्वहरुले क्यान्सरलाई रोक्न मद्दत गर्दछ । स्तन क्यान्सरको जोखिमलाई पनि कम गर्दछ ।

खरबुजा : खरबुजा गर्मीयाममा  निकै खाइन्छ । यसमा पानीको मात्रा धेरै हुन्छ । खरबुजामा पोटासियम र म्याग्नेसियम पाइन्छ, जसले रक्तनलीलाई स्वस्थ राख्न मद्दत गर्छ । खरबुजा खान सके रक्तचापलाई सामान्य राख्छ, फाइबर प्रशस्त मात्रामा पाइने हुँदा यसले पाचन तन्त्रलाई पनि सुधार्न मद्दत गर्छ ।

मेवा : मेवामा क्याल्सियम, म्याग्नेसियम, पोटासियम जस्ता लवणका साथै कार्बोहाइड्रेट, भिटामिन र फाइबर पनि प्रशस्तै पाइन्छ । यसले शरीरलाई सितलता प्रदान गर्नुको साथै पाचन प्रक्रियामा रहेका समस्या हटाउन र कमलपित्त, हर्निया, कोलेस्ट्रोल तथा मुटुरोगीका लागि समेत निकै फाइदाजनक हुन्छ । मेवामा पाइने पोटासियमले रक्तचापलाई सन्तुलित बनाउन मद्दत पनि गर्दछ ।

स्याउ : स्याउ धेरै फाइदाजनक फलफूलमा पर्दछ । स्याउ खानाले शरीरमा शीतलतासँगै मिर्गौलामा हुने पत्थरीबाट पनि बचाउने डाक्टरहरु बताउँछन् । त्यस्तै कब्जियत वा ग्यास्ट्रिकको समस्याका लागि पनि स्याउ खानु फाइदाजनक मानिन्छ । स्याउमा फाइबर हुन्छ, जसले दाँतलाई स्वस्थ राख्न मद्दत गर्दछ । स्याउको सेवनले अल्जाइमरबाट बचाउँछ । दम रोगीको लागि पनि निकै फाइदाजनक हुन्छ । यसमा पाइने तत्वले शरीरमा ग्लुकोजको कमीलाई पूरा गर्दछ र मधुमेहको खतरालाई कम गर्दछ ।

 

  • २८ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech