कालो ढुसी (म्युकोर्माइकोसिस)को संक्रमण बारे जान्नै पर्ने कुराहरु

    • स्वास्थ्य पेज

  • २४ जेष्ठ २०७८, सोमबार

नेपालगन्ज: पछिल्लो समय नेपालमा म्यूकरमाइकोसिस अर्थात कालो ढुसीको संक्रमण फैलिँदै गएको छ । अहिलेसम्म वीरगञ्ज र काठमाडौंमा कालो ढुसीको संक्रमण भएका विरामीहरु देखिएको पाइएको छ । तीमध्ये तीन जनाको मृत्यु भएको विवरणहरु सार्वजनिक भएका छन् ।

यसको संक्रमण बढ्दै गएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूलाई त्यस्ता खालका बिरामीबारे सचेत रहन समेत निर्देशन दिइसकेको छ । छिमेकी देश भारतमा कालो ढुसीको संक्रमणबाट हजारौं व्यक्ति प्रभावित भइसकेका छन् । भारतमा हालसम्म १२ हजार भन्दा बढीलाई कालो ढुसीको संक्रमण देखिएको छ ।

तीमध्ये ३०० भन्दा बढीको मृत्यु भइसकेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालगन्जस्थित फत्तेवाल आँखा अस्पताल फुलटेक्राका नेत्र विशेषज्ञ डा राजसी श्रेष्ठका अनुसार यो एक प्रकारको ढुसीका कारण हुने रोग हो । कोभिडपछि यस्को चर्चा बढी भएको छ ।

कोभिडका विरामीहरुमा यस्को संक्रमण बढी देखिएको छ । कोभिड बाहेकका विरामीलाई पनि कालो ढुसीको संक्रमण हुने गर्छ । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकालाई यसले संक्रमण गर्दछ । विशेषगरी कोभिड-१९ को संक्रमणको उपचारका क्रममा भेन्टिलेटरमा पुगेका, लामो समय अक्सिजन सर्पोट लिएका र सुगरको मात्रा मेनटेन नभएका विरामीहरुलाई यसले जोखिममा पार्ने गर्छ ।

किनकी उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता कमजोर भएको हुन्छ । खासगरी यसले मानिसको आँखा, नाक र फोक्सो र साइनसमा असर गर्ने डा.श्रेष्ठको भनाइ छ । यो संक्रमण विरलै देखिन्छ तर संक्रमण गम्भीर भए प्राणघातक पनि हुनसक्ने भएकोले समयमा नै ध्यान पुर्याउनु आवश्यक छ ।

कालो ढुसीका लक्षणहरु ?

डा श्रेष्ठका अनुसार यसले सुरुमा नाकलाई नै आक्रमण गर्ने गर्छ । यस्को संक्रमण नाकबाट सुरु हुने गर्छ । नाक बुझिने, रगत आउने, गन्ध आउनेजस्ता समस्या देखिन्छ । अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने र, नाक सुनिन पनि सक्छ । त्यहाँबाट यसले आँखातिर आक्रमण गर्न सुरु गर्छ । आँखा सुनिने, दुख्ने, धमिलो देख्ने, आँखाबाट रगत जस्तो तरल पदार्थ बग्ने, आँखाको ढकनी तल खस्ने, आँखाको वरिपरी छुँदा थाहा नहुनेलगायतका समस्या देखिन्छ ।

कसरी सर्छ ?

यो रोग कोरोना भाइरस जस्तो व्यक्तिको संसर्गबाट सर्दैन । यो एकदमै कमजोर शरिरमा देखापर्ने समस्या हो । बिरामीलाई अक्सिजन दिँदा पाइपलाइनमा पसेको ढुसी, उपकरणहरूमा लागेको ढुसीबाट मात्रै अरू मानिसमा सर्ने गर्छ । सरसफाइमा ध्यान नदिँदा अर्को मानिसमा सर्ने सम्भावना बढी रहेको उहाँको भनाइ छ । कोभिडका सबै विरामीलाई कालो ढुसीको संक्रमण नहुने उहाँको भनाइ छ । जस्को रोग प्रतिरोधात्मक क्षमता कम छ त्यहीलाई जोखिम बढी हुने उहाँ बताउनुहुन्छ ।

कसरी बच्ने ?

संक्रमणबाट बच्नका लागि सबैभन्दा राम्रो उपाय भनेको सरसफाइमा जोड दिनु नै रहेको डा.श्रेष्ठको सुझाव छ । फोहरमैला भएको ठाउँतिर नजाने । एउटै सामग्रीको प्रयोग लामो समयसम्म नगर्ने, प्रयोग भइरहेका उपकरण पुनः प्रयोग गर्दा राम्रोसँग सफा गर्नुपर्नेमा उहाँको सुझाव छ । डिस्पोजेबल मास्कको प्रयोग एकपटक गरिसकेपछि अर्को पटक नगर्ने ।

किनकी मास्कमा कालो ढुसीको जिवाणु बसेको हुन्छ । यस्तै मुखबाट पनि यो जिवाणु शरिरमा प्रवेश गर्ने भएकाले पानीले मुख कुला गर्ने । रोग प्रतिरोधात्मक क्षमता कमजोर भएकालाई बढी आक्रमण गर्ने हुँदा प्रतिरोधात्मक क्षमता वृद्धि गर्ने खानेकुरा खान उहाँको सुझाव छ । मधुमेह भएका बिरामीले शरिरमा चिनीको मात्रा नियन्त्रणमा राख्ने आँखा पोल्ने, आँखाबाट रगतजस्तो तरल पदार्थ आउने, नाक रातो हुने जस्ता समस्या देखिएको खण्डमा तुरुन्तै चिकित्सककहाँ जानुपर्ने उहाँ बताउँनुहुन्छ ।

उपचार सम्भव छ ?

यो गम्भीर खालको संक्रमण हो । यस्ले जुन ठाउँमा संक्रमण गर्छ त्यहाँ रक्तसंचार नै ब्लक गर्छ । यस्ले संक्रमण गरेको भाग कुहिन्छ । डा. श्रेष्ठका अनुसार अहिलेसम्म एम्फोटेरिसिन–बी जस्ता औषधीको प्रयोग गरिन्छ । यो सँगसँगै सर्जरी गर्नुपर्छ । जुन–जुन अंगमा संक्रमण छ, उक्त ठाउँको सर्जरी गर्नुपर्छ ।

स्वास्थ्य पेजका लागि नेत्र विशेषज्ञ डा.राजशी श्रेष्ठसँग समिरमान श्रेष्ठले गर्नुभएको कुराकानीमा आधारित

  • २४ जेष्ठ २०७८, सोमबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech