पोस्ट कोभिड कम्प्लिकेसनको रुपमा म्युकरमाइकोसिस समस्या बढ्दो

हालसम्म म्युकरमाइकोसिसका १० जना संक्रमित पहिचान भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ ।


    • स्वास्थ्य पेज

  • २१ जेष्ठ २०७८, शुक्रबार

नेपालगन्जः नेपालमा पोस्ट कोभिड कम्प्लिकेसनको रुपमा अहिले म्युकरमाइकोसिसको समस्या बढ्दै गएको छ ।

हालसम्म म्युकरमाइकोसिसका १० जना संक्रमित पहिचान भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांक छ । विभिन्न अस्पतालहरुमा गरी तीनजनाको मृत्यु भइसकेको छ ।

नेपालमा देखिएका कोभिड संक्रमितमा फोक्सोसम्बन्धी समस्या, मनोवैज्ञानिक समस्याहरु र मधुमेहका बिरामीमा विशेष समस्याहरु देखिन थालेको त्रिवि शिक्षण अस्पतालका छातीरोग विशेषज्ञ डा निरज बमले बताउनुभयो ।

नेपालमा अहिले कोभिड संक्रमण भएका मधुमेहका बिरामी धेरैमा पोस्ट कोभिड कम्प्लिकेसन देखिएको छ । उनीहरुमा स्टेरोइडको प्रयोगले सुगरको मात्रा बढेको र यसले रोग प्रतिरोधी क्षमता कमजोर बनाई विभिन्न अंगमा असर देखिएको डा बमको भनाइ छ।

कोभिड संक्रमितको उपचारका क्रममा बाध्य भएर स्टेरोइड औषधि चलाइयो, यसले मधुमेहका बिरामीलाई थप जटिलता निम्त्याएको पनि उहाँको भनाइ छ । आँखाको दृष्टि गुमाउँदै गएका, सुगरको मात्रा धेरै बढेर विभिन्न समस्या लिएर फलोअपमा बिरामीहरु आउँने गरेको डा बमले बताउनुभयो ।

श्वासप्रश्वाससम्बन्धी कुनै पनि समस्याले फोक्सोमा प्रत्यक्ष असर गर्छ । लक्षणसहितका अधिकांश कोभिड संक्रमितको फोक्सोमा लामो समयसम्म पनि दाग रहिरहने नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालका फोक्सोरोग विशेषज्ञ डा सुभाष योगीले बताउनुभयो ।

यसरी फोक्सोमा रहिरहने दाग अर्थात् संक्रमणको अंशका कारण उनीहरुमा पटक–पटक निमोनिया हुन सक्ने सम्भावना धेरै हुन्छ । त्यसैगरी, १० देखि १५ लिटरभन्दा हाई फ्लो अक्सिजन दिएर बचाइएका संक्रमितहरुलाई संक्रमणमुक्त भइसकेपछि पनि अक्सिजनको सहायतामा राख्नुपर्ने हुन सक्ने चिकित्सकहरु बताउँछन् ।

यसरी एकपटक भएको लक्षणसहितको संक्रमणले फोक्सोलाई कमजोर बनाउने भएकाले संक्रमितमा दोहोर्‍याएर छातीसम्बन्धी समस्याहरु देखिन सक्छन् ।

नेपालमा कोभिड संक्रमितहरुमा यस्ता समस्या बढ्न थालेपछि विभिन्न अस्पतालहरुले निःशुल्क पोस्ट कोभिड कम्प्लिकेसन ओपीडी सेवा पनि सुरु गरेका छन् ।

  • २१ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech