महासचिव भन्छन्- ‘सबै व्यवसाय खोल्नुहोस्, सिडियो भन्छन्- नखोल्नुहोस् ।’

    • स्वास्थ्य पेज

  • १८ जेष्ठ २०७८, मंगलवार

नेपालगन्जः जिल्ला प्रशासन कार्यालय बाँकेले पटकपटक गरी अहिलेसम्म पाँच पटक निषेधाज्ञा थपिसक्यो । पछिल्लो पटक जेष्ठ २४ गतेसम्मलाई निषेधाज्ञा लम्ब्याइएको छ । कोरोना भाइरस संक्रमणको चेन ब्रेक गर्न जारी गरिएको निषेधाज्ञा पछिल्लो पटक एक साता थप भएको हो ।

पाँचौ पटक थप गरिएको निषेधाज्ञामा दैनिक उपभोग्य बस्तुको कारोवार गर्ने व्यवसाय विहान ७ देखि १२ बजेसम्म खोल्न पाइने प्रशासनले अनुमति दिएको छ । यसअघि विहान ७ देखि ११ बजेसम्म मात्रै दैनिक उपभोग्य बस्तु (खाद्यान्न, दुग्धजन्य)लाई किनमेलका लागि अनुमित दिएको प्रशासनले योपालि भने बस्तुको नाम उल्लेख नगरि दैनिक उपभोग्य भनेर सूचनामा उल्लेख गरेको छ । तर दैनिकमा के के पर्छन् ? त्योबारे प्रशासनले खुलाएको छैन् ।

नेपालगन्ज उद्योग बाणिज्य संघका महासचिव चिरञ्जीवि ओलीले भने १२ बजेसम्म सबै पसल व्यवसाय संचालन गर्न व्यापारीहरुलाई अनुरोध गर्नुभएको छ ।

प्रशासनले दैनिक उपभोग्य पसलमात्रै संचालनको अनुमति दिएको बेला संघका महासचिव ओलीले किन सबै पसल व्यवसाय संचालनको लागि आग्रह गर्नुभयो ? बाँकेका प्रमुख जिल्ला अधिकारी शिवलाल गेलाल भन्नुहुन्छ–‘पसलहरु संचालन गर्न पाउनु पर्ने विषयमा उहाँहरु (व्यवसायी)ले कुरा राख्नु भएको हो तर जोखिम नटरेकाले तत्कालका लागि व्यवसाय संचालन नगर्न हामीले भनेको छौं ।

दैनिक उपभोग्य वस्तुको सवालमा भने केही खुकुलो बनाएका छौं ।’ उहाँले सबै पसल व्यवसाय संचालनको अनुमति नदिएको स्पष्ट पार्नुभएको छ । ‘बजारमा मानिसहरुको मुभमेन्ट अझै रोक्न जरुरी छ उहाँले स्वास्थ्य पेजलाई भन्नुभयो–‘पूर्णरुपमा सबै पसल संचालन गर्ने अवस्था अझै छैन् ।’

मापदण्ड पालना गराउने सवालमा उद्योगी व्यवसायीको भूमिका पनि प्रभावकारी हुनु पर्नेमा उहाँको जोड छ । महासचिव ओलीले १२ बजेसम्म स्वास्थ्य मापदण्ड पालना गरेर सबै व्यवसाय संचालन गर्न आग्रह गरेपछि व्यापारीहरु भने अलमलमा परेका छन् ।

निषेधाज्ञाको पूर्णपालना नभएको भन्दै स्थानीय प्रहरी प्रशासनमाथि आलोचना पनि भइरहेको छ ।

  • १८ जेष्ठ २०७८, मंगलवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech