थप सुरक्षाका लागि भेरी अस्पतालमा प्रहरी परिचालन

    • स्वास्थ्य पेज

  • १५ जेष्ठ २०७८, शनिबार

नेपालगन्ज: भेरी अस्पताल नेपालगन्जमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । पटक पटक स्वास्थ्यकर्मी माथी कुटपिटका घटना हुनथालेपछि  २५ जना प्रहरी अस्पतालमा खटाईएको हो । बिरामीका आफन्तले अस्ति राती अस्पतालको कोभिड वार्डमा कार्यरत स्वास्थ्यकर्मी माथि कुटपिट गरेपछि सुरक्षाको ग्यारेन्टि नभएसम्म काम गर्न नसकिने चिकित्सक, नर्सहरुले बताएका थिए ।

पटक पटक यसखाले घटना भएपछि आज शनिबार अस्पतालमा २५ जना प्रहरी खटाईएको हो । प्रहरी नायव निरिक्षक तोजेन्द्र विसिको कमाण्डमा २ जना प्रहरी सहायक निरिक्षक (असई) सहित २५ जना प्रहरी भेरी अस्पतालमै बस्ने गरी खटाईएको बताईएको छ । यसअघि प्रहरी बाहेक सेक्युरेटि गार्ड समेत अस्पतालमा खटिएका थिए । तर सानो संख्यामा भएका कारण पटक पटक घटनाहरु दोहोरिने गरेका थिए।

यसैबिच चिकित्सक तथा नर्समाथी आक्रमण गर्ने विरुद्ध प्रहरीमा ज्यान मार्ने उधोगमा मुद्दा दर्ता भएपछि भेरी अस्पतालमा उत्पन्न तनाव साम्य भएको छ ।चिकित्सक तथा स्वास्थ्यकर्मीहरु नियमित काममा फर्किएका छ्न । कोभिड वार्डमा एकजना भन्दा बढी कुरुवा बस्न नदिने गरी तयारी भैरहेको बुझिएको छ । यसअघि दुई तीन जना कुरुवा बस्दै आएका थिए । तर सिकिस्त बिरामीको हकमा भने एकजना कुरुवालाई बिरामी सम्हालन गाह्रो हुने कुरुवाहरुको भनाइ छ।

कोरोना संक्रमीत दाङ तुलसीपुरका डिल्ली राज रावतको उपचारका क्रममा मृत्यु भएपछि चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै रावतका भाइ मानबहादुर लगायत आफन्तहरुले कोभिड आइसीयूमा तोडफोड गर्नुका साथै ड्युटीमा खटिएका चिकित्सक तथा नर्सलाई आक्रमण गरेका थिए । त्यसक्रममा एकजना चिकित्सक र तीन जना नर्स एक तलामाथी रहेको शौचालयको झ्यालबाट हामफालेर ज्यान जोगाएका थिए।

अस्पतालका सुचना अधिकारी डा संकेत रिसालका अनुसार चिकित्सक तथा नर्सहरु बिरामीको सेवामा खटिरहेका छ्न । अपराधमा संलग्नहरुलाई कानुनी कारबाही हुने भएपछि पीडितहरुले न्यायको अनुभुति गरेको उहाँको भनाइ छ । भेरी अस्पतालमा तीन हप्तामा चारपटक चिकित्सक तथा स्वास्थ्यकर्मीमाथी आक्रमण भएको छ। ती सबै घटना कोभिड बिरामीको उपचारलाई लिएर भएका छ्न ।

पछिल्लो पटकको आक्रमणका दोषीलाई कानुनी कठघरामा उभ्याइए पनि त्यो भन्दा अघिका दोषीलाई भने स्थानीय प्रशासनले उन्मुक्ति दिएको चिकित्सक तथा स्वास्थ्यकर्मीहरु बताउँछन् ।

  • १५ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech