मुख्यमन्त्रीका मान्छे हौं भन्दै धम्क्याउथे: स्वास्थ्यकर्मी

`एउटा सामान्य बिरामीको आफन्तले आइसीयु वार्डमा प्रबेश गरि चिकित्सक र स्वास्थ्यकर्मीमाथी कसरी आक्रमण गर्न सक्छ ?´


    • स्वास्थ्य पेज

  • १४ जेष्ठ २०७८, शुक्रबार

तस्विर : फाइल

नेपालगन्ज: नेपालगन्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको घटनाको चौतर्फी निन्दा भैरहेको छ ।

कोभिड संक्रमित विरामीको उपचारका क्रममा निधन भएको घटनालाई लिएर विरामीका आफन्तहरुले विहीबारराती कोभिड वार्डमा खटिएका चिकित्सक, नर्सिङस्टाफ तथा स्वास्थ्यकर्मीलाई लखेटी लखेटी आक्रमण गरेका थिए ।

उनीहरुको आक्रमणबाट ज्यान जोगाउन डा चन्द्रप्रकाश शाहु, नर्सहरु सदिक्षा गैरे बन्दना श्रेष्ठ र आश्वीन गुरुङले पहिलो तलाबाट हाम्फालेर ज्यान जोगाउनुभएको थियो ।

गम्भीर अबस्थामा जेठ ४ गते अस्पताल भर्ना भएका दाङका डिल्ली बहादुर रावतको कोभिड वार्डमा उपचारका क्रममा निधन भएको थियो । चिकित्सकको लापरबाहीले निधन भएको भन्दै रावतका आफन्तहरुले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथी आक्रमण गरे ।

उपचारमा खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले रावतका आफन्तहरुले आफुहरु मुख्यमन्त्री शंकर पोख्रेलका आफन्त हौं भन्दै उपचारमा केयर गर्न भनिरहेका थिए ।

उपचार नगरे धम्क्याउनेसम्म गर्दै आएका थिए । एकजना स्वास्थ्यकर्मीका अनुसार, सबै बिरामीलाई आफुहरुले समान तरिकाले उपचार गर्ने भन्दै नधम्क्याउन उनीहरुलाई अनुरोध गर्दै आएका थिए ।

`एउटा सामान्य बिरामीको आफन्तले आइसीयु वार्डमा प्रबेश गरि चिकित्सक र स्वास्थ्यकर्मीमाथी कसरी आक्रमण गर्न सक्छ ?´- ती स्वास्थ्यकर्मीले भने ।

`हाम्रो लागि सबै बिरामी समान हो ती स्वास्थ्यकर्मीले स्वास्थ्य पेज संग भने- `स्पेशल उपचार खोज्ने भए मुख्यमन्त्री कहाँ लानु नि, किन यहाँ ल्याउनु ? सरकारी अस्पतालमा सबैको समान उपचार हुन्छ ।´

रावत परिवार र मुख्यमन्त्री पोख्रेल बिच नजिकको सम्बन्ध रहेको बुझिएको छ । स्वास्थ्यकर्मीमाथी आक्रमण गर्नेमा नेपालगन्जकै केही स्थानीय युवाहरुको समेत प्रयोग भएको स्वास्थ्यकर्मीहरुले आरोप लगाएका छन् ।

  • १४ जेष्ठ २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech