नेपालगन्ज: भेरी अस्पतालमा कोरोना भाइरस संक्रमित थप दुईजना बिरामीको मृत्यु भएको छ ।
अस्पतालका अनुसार उपचारका क्रममा लमही नगरपालिका-६ दाङका ४८ वर्षीय पुरुष र राप्तीसोनारी गाउँपालिका-६ बाँकेका ५२ वर्षीय पुरुषको मृत्यु भएको हो । दाङका ४८ वर्षीय पुरुष जेष्ठ २ मा पीसीआर परीक्षण पछि थप उपचारका लागि ३ गते अस्पतालमा भर्ना भएका थिए । उनको गएराती १ बजे मृत्यु भएको हो ।
त्यस्तै राप्तीसोनारीका ५२ वर्षीय पुरुषको बैशाख २५ गते पीसीआर परीक्षण गरिएको थियो । उनि स्वास्थ्यमा समस्या आएपछि बैशाख २४ मै अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार नभएपछि उनको गएराती २ बजे मृत्यु भएको हो ।
योसँगै बाँकेमा कोरोना भाइरस संक्रमणका कारण हालसम्म उपचारका लागि जिल्ला बाहिरबाट आएका २५९ जना र जिल्लाकै २८१ जनाको मृत्यु भएको जिल्लाका कोरोना फोकलपर्सन तेज ओलीले जानकारी दिनुभयो ।