नेपाल टेलिकमले स्वास्थ्यकर्मीलाई एक महिना नि:शुल्क फोन कल सुबिधा दिने

    • स्वास्थ्य पेज

  • ९ जेष्ठ २०७८, आईतवार

काठमाडौं: नेपाल टेलिकमले कोभिड-१९को रोकथाम, उपचार तथा नियन्त्रणमा खटिएका देशका सबै स्वास्थ्यकर्मीलाई निशुल्क फोन कल सुबिधा दिने भएको छ।

टेलिकमले बिरामीको सेवामा समर्पित चिकित्सक, नर्स, फर्मासिस्टलगायत सबै स्वास्थ्यकर्मीहरुको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्न ‘धन्यवाद स्वास्थ्यकर्मी’ अफर उपलब्ध गराउन लागेको हो ।

नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आज नेपाल मेडिकल काउन्सिल, नेपाल स्वास्थ्य व्यवसायी परिषद, नर्सिङ परिषद, फार्मेसी परिषद, आयुर्वेद चिकित्सा परिषद् लगायतका सबै स्वास्थ्यका नियमक निकायका प्रमुखहरुले सो सुविधा सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन्।

यस अफरअन्तर्गत देशभरका स्वास्थ्यकर्मीहरुले प्रयोग गरिरहेका आफ्नो नाममा रहेको नेपाल टेलिकमको पोस्टपेड-प्रिपेड सिमकार्डमा एक महिनासम्म निःशुल्क भ्वाइस कल उपलब्ध गराइने टेलिकमले जनाएको छ । स्वास्थ्यकर्मीहरुले आफ्नो मोबाइल नम्बरबाट नेपाल टेलिकमको नेटवर्कभित्र जुनसुकै समयमा गर्ने कल निःशुल्क गर्न सक्नेछन् ।

पोस्टपेड मोबाइलको हकमा भने नियमानुसार लागु हुने रेन्टल चार्ज कायमै रहने टेलिकमले जनाएको छ ।उक्त सुबिधा लिनका लागि सबै स्वास्थ्यकर्मीले सम्बन्धित परिषदले दिएको अनलाइन लिंकमा गएर फर्म भर्नुपर्ने हुन्छ।

कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत प्रदान गरिने यो अफरको समयावधि कोरोना महामारीको अवस्था हेरी थप गर्न सकिने टेलिकमले जनाएको छ ।

  • ९ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech