कोभिडको थर्ड वेभमा बालबालिका कति जोखिममा ? यस्ता छन् जोगिने उपाय

बालबालिका प्रायःजसो अभिभावक तथा घरका अन्य परिवारका सदस्यसँग नजिक हुने, धेरैसँग भेट्ने, जहाँतहीँ गएर खेल्ने मास्क नलगाउने हुँदा संक्रमणको जोखिम बढी हुने गर्छ ।


    • समिरमान श्रेष्ठ

  • ९ जेष्ठ २०७८, आईतवार

नेपालगन्जः कोरोना भाइरसको नयाँ भेरियन्टमा बालबालिकापनि संक्रमणको चपेटामा परेका छन् । गएको वर्ष जेष्ठ नागरिक तथा दीर्घरोगीहरुमा भाइरसको जोखिम देखिएपनि नयाँ भेरियन्टमा बालबालिका तथा वयस्क व्यक्तिहरुमा संक्रमणको जोखिम बढी देखिएको छ ।

नयाँ भेरियन्टको भाइरस संक्रमणसँगै आफ्ना बालबालिकालाई संक्रमणबाट कसरी जोगाउने भन्ने चिन्ता अभिभावकमा छ । लापरवाही नगरी संक्रमित हुनबाट बालबालिकालाई जोगाउने तथा संक्रमण भइहाले पनि ध्यान दिन अत्यन्त जरुरी हुने नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका वरिष्ठ नवजात शिशु तथा बालरोग विशेषज्ञ डा पियुष कनोडियाले बताउनुभयो ।

बालबालिका प्रायःजसो अभिभावक तथा घरका अन्य परिवारका सदस्यसँग नजिक हुने, धेरैसँग भेट्ने, जहाँतहीँ गएर खेल्ने मास्क नलगाउने हुँदा संक्रमित जोखिम बढी हुने गर्छ । अपरिपक्व प्रतिरक्षा प्रणाली तथा स्वास्थ्यमा पहिलाबाटै समस्या भएका बच्चामा कोभिड १९ को संक्रमण हुने जोखिम बढी हुने हुन्छ ।

अझ तेस्रो चरणको भाइरस संक्रमणले बालबालिकालाई बढी जोखिममा पार्ने चर्चा भइरहेको छ । डा कनोडिया बालबालिकाहरुमा खोपको पहुँचमा नहुँदा स्वभाविकरुपमा जोखिममा पर्ने बताउँनुहुन्छ । उहाँका अनुसार कोरोना भाइरसको संक्रमण हुन नदिन सरसफाइमा ध्यान पुर्‍याइ सावधानी अपनाउनुपर्छ ।

सकेसम्म बालबालिकालाई घरमै राख्ने र भीडभाडमा लैजाने गर्नुहुँदैन । संक्रमण हुनबाट जोगाउन भीडभाड भएको ठाउँबाट टाढा राख्ने, पटकपटक हात धुने, सामाजिक दूरीको उपाय अपनाउने, बालबालिकाले अनिवार्य मास्क लगाउने, तथा शरीरको प्रतिरक्षा प्रणालीलाई बढावा दिन पोषणयुक्त खानेकुराको सेवन गराउनुपर्ने उहाँको सुझाव छ ।

संक्रमणबाट जोगाउन बच्चाको हेरचाहमा अभिभावकले एकदम ध्यान दिनुपर्ने डा कनोडियाको सुझाव छ । सतर्कता अपनाउँदा अपनाउँदै समेत बालबालिकामा कोरोना संक्रमण हुने सम्भावना रहन्छ । बालबालिकामा संक्रमण भएपनि चाँडै निको हुने सम्भावना पनि धेरै हुन्छ । तर, चाँडै निको हुन्छ भन्दैमा लापरवाही गर्नु हुँदैन ।

बालबालिकामा पनि अन्य जस्तै नै सामान्यतया ज्वरो आउने, रुघाखोकी लाग्ने, छाती दुख्ने, थकान, सुस्त हुने, श्वासप्रश्वाससम्बन्धी समस्या, सास फेर्न अप्ठ्यारो हुने, झाडापखाला जस्ता लक्षणहरू देखिन सक्छन् । अर्को कुरा बालबालिका संक्रमित व्यक्तिको सम्पर्कमा छ भने पनि भाइरस संक्रमण हुन सक्ने सम्भावना रहन्छ ।

संक्रमित भएका बालबालिकालाई घरमै हेरचाह गर्दा अन्य उमेरका संक्रमित जस्तै स्वास्थ तथा घरमै बनाएका पोषिलो खानेकुराको सेवन गराउनुपर्ने, सरसफाइमा ध्यान दिनुपर्ने कुरामा डा कनोडियाको जोड छ । बालबालिकालाई प्रतिरोधात्मक क्षमता बढाउने प्रकारका खाना खुवाउनुपर्छ जसले संक्रमणसँग लड्न मद्दत गर्छ ।

भर्खर जन्मिएका तथा स्तनपान गरिरहेका शिशु संक्रमित भए आमाले सतर्कता अपनाएर ग्लोब्स, मास्कलगायतको प्रयोग गरेर स्तनपान नै गराउनुपर्छ । अहिलेसम्म आमाको दुधबाट बालबालिकालाई कोभिड सरेको पुष्टि भएको छैन् । लगातार खोकी लागेमा, खोकी कन्ट्रोल नभएमा, सास फेर्न गाह्रो भएमा, ज्वरो कम नभएमा, बच्चा सुस्त भएमा, अक्सिजनको मात्रा कम हुने जस्ता लक्षण देखिएका तथा गम्भीर अवस्थाका संक्रमित बालबालिकालाई तुरुन्तै अस्पताल लगेर उपचार गराउनुपर्ने हुन्छ ।

होमआइसोलेसनमा राखेका बालबालिकाको अभिभावकले निगरानी बढी गर्नु पर्छ । जस्तैः ज्वरो मापन गर्ने, अक्सिजन लेभल हेर्ने (९४ प्रतिशत) भन्दा कम हुनु भएन्, वाफ दिने र खानेकुरामा बढी ध्यान दिनु पर्छ । अर्को कुरा, नियमित खोप चाही छुटाउनु हुदैन् । स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर नियमित खोपबाट बालबालिकालाई बञ्चित गरिनु हुदैन् ।

  • ९ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech