कोभिडको तेस्रो भेरियन्ट अझ आक्रामकः स्वास्थ्य मापदण्ड पालना गरे आत्तिनु पर्दैनः डा किदवाई

    • स्वास्थ्य पेज

  • ६ जेष्ठ २०७८, बिहीबार

नेपालगन्जः नेपालमा कोभिड-१९ को तेस्रो भेरियन्टको संक्रमण देखिन थालेपछि थप चिन्ता उत्पन्न भएको छ । दोस्रो भेरियन्टको महामारीले ठूलो मानविय क्षती पुर्याइरहेका बेला तेस्रो भेरियन्ट देखिएपछि थप चिन्ता बढेको हो ।

तेस्रो भेरियन्ट थप आक्रामक रहेको अध्ययनले देखाएको स्वास्थ्यविद्हरु बताउँछन् । नेपालमा गत हप्ता कोभिड–१९ संक्रमितको ३५ वटा नमुनालाई जिन स्क्विेन्सिङ गर्दा ९७ प्रतिशतमा (३४ वटा) बी.१.६१७.२ नयाँ भेरियन्ट र तीन प्रतिशतमा (१ वटा) बी.१. ६१७.१ पुष्टि भएसँगै नेपालमा कोभिड १९ को तेस्रो भेरियन्ट रहेको पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पनि मंगलबार नेपालमा तेस्रो भेरियन्ट रहेको पुष्टि गरिसकेको छ ।

तर चिकित्सकहरु तेस्रो भेरियन्टबाट आमनागरिकहरु आत्तिहाल्नु पर्ने अवस्था नरेपनि तर सावधानी अपनाउन भने जरुरी रहेको बताउँछन् । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जका फिजिसियन डा आसिम किदवाईले नयाँ भेरियन्ट जोखिमपूर्ण भएपनि आत्तिहाल्नु पर्ने अवस्था नरहेको बताउनुहुन्छ ।

उहाँले आवश्यक सावधानी अपनाउन सकियो भने जोखिमलाई कम गर्न सकिने बताउनुभयो । कोरोनाको जतिसुकै नयाँ भेरियन्ट आएपनि उपचार विधि र सावधानी अपनाउने तरिका एउटै भएकाले त्यहीअनुसार मानिसले व्यवहार गर्नुपर्ने उहाँको सुझाव छ ।

‘कोभिडबाट जोगिने भनेकै मास्क र सेनिटाइजरको प्रयोग तथा सामाजिक दुरी कायम गर्ने हो उहाँले भन्नुभयो- ‘कोभिड भइहालेपनि उपचार अहिले जसरी चलिरहेको छ त्यसैगरी हुने हो त्यसैले आवश्यक स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्ने हो भने नयाँ भेरियन्टबाट आत्तिनु पर्ने अवस्था छैन् ।’

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा कृष्ण पौडेलले सुरुमा बेलायतमा पत्ता लागेको भेरियन्ट भन्दा यो भेरियन्ट ४० देखि ५० प्रतिशत बढी संक्रामक रहेको बताउनुभयो। यो भेरियन्ट २० देखि ४४ वर्ष उमेर समूहमा उच्च संक्रमण रहेको पनि उहाँले जानकारी दिनुभयो ।

‘प्रारम्भिक अध्ययनहरुले यो सर्ने दर अन्य भेरियन्टभन्दा उच्च छ भन्ने देखियो । नेपालमा संक्रमण बढेको दर र भारतमा बढेको दरले पनि अप्रत्यक्ष रुपमा हामी एउटा निष्कर्षमा पुग्न सक्छौँ यो अलि बढी संक्रामक छ’-उहाँले भन्नुभएको छ ।

डा पौडेलले हाल कोभिड विरुद्धमा लगाइरहेको कोभिशिल्ड खोपले तुलनात्मक रुपमा यस भेरियन्टको जटिलता कम गर्न र मृत्यूदर कम गराउन प्रभावकारी हुने पनि बताउनुभयो ।

‘कोभिशिल्ड खोप तुलनात्मक हिसाबले यो भेरियन्टमा पनि जटिलता कम गर्न र मृत्यूदर कम गराउन सहयोगी÷प्रभावकारी छ भन्ने बुझिन्छ । खोपको प्रभावकारिता राम्रै देखिएको छ’-उहाँले भन्नुभयो ।

 

  • ६ जेष्ठ २०७८, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech