कोरोना भाइरस विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आजदेखि लगाइँदै

    • स्वास्थ्य पेज

  • २ जेष्ठ २०७८, आईतवार

तस्बिर:फाइल

काठमाडौं: कोरोना भाइरस विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज आजदेखि लगाइँदै छ । बिहान १० बजेदेखि निर्धारित केन्द्रबाट खोप लगाइने बताइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वैशाख २२ गतेको र जिल्ला विपद् व्यवस्थापन केन्द्रको वैशाख २५ गतेको निर्णयानुसार गत चैत २५ देखि वैशाख १५ गतेसम्म पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा दिन लागिएको हो ।

खोप अभियानका लागि काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा ३२ वटा खोप केन्द्र र समन्वयकर्ताको विवरण सार्वजनिक गरिसकेको छ । दोस्रो खोप लगाउन पहिलो खोप लिएको मितिका आधारमा तय गरिएको छ ।

जसअनुसार २०७७ चैत २५, २६, २७ र २८ गते पहिलो मात्रा लगाएकालाई आज दोस्रो डोज खोप दिइनेछ ।यसैगरी, चैत २९ र ३० गते पहिलो खोप लिएकालाई जेठ ३ गते, ०७७ चैत ३१ र ०७८ वैशाख २ गते पहिलो खोप लगाएकालाई जेठ ४ गते दोस्रो मात्राको खोप दिइनेछ ।

खोपका लागि परिचय खुल्ने फोटोसहितको परिचयपत्र तथा पहिलो डोजको खोप लगाएको कार्ड देखाएपछि तोकिएकामध्ये पायक पार्ने खोप केन्द्रमा गएर खोप लगाउन सकिने छ।

अहिलेसम्म कोरोना भाइरसविरुद्धको २५ लाख डोज खोप लगाइसकिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।हालसम्म ३२ लाख ४८ हजार मात्रा खोप आइसकेको र २५ लाख जनसंख्याले कोरोनाविरुद्धको खोप पाएका मन्त्रालयका सह–प्रवक्ता डा.समीर कुमार अधिकारीले जानकारी दिनुभयो ।

  • २ जेष्ठ २०७८, आईतवार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech