सुदूरमा कोरोनाको सुनामी: १६ दिनमै मृत्युदर साढे तीन गुणाले बढ्यो

    • स्वास्थ्य पेज

  • १ जेष्ठ २०७८, शनिबार

धनगढीः संक्रमित थपिंदै गएको सुदूरपश्चिममा मृत्युदर पनि ह्वात्तै बढेको छ । गत वर्षको चैत १४ देखि वैशाख १५ गतेसम्म कोरोना भाइरसको संक्रमणबाट ७२ जनाको मृत्यु भएकोमा बितेको १६ दिनमै मृत्युदर त्यसको साढे ३ गुणाले वृद्धि भएको छ । शुक्रबारसम्म प्रदेशभर कोरोना भाइरसको संक्रमणबाट ३१७ जनाको मृत्यु भएको छ ।

जसमा पछिल्लो १६ दिनमा मात्र २४५ जनाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । सबैभन्दा धेरै गत वैशाख २८ गते ३१ जना संक्रमितको मृत्यु भएको थियो । यो तथ्यांकलाई हेर्दा सुदूरपश्चिममा दैनिक औसतमा कम्तीमा पनि १५ जनाले कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाइरहेका छन् ।

वैशाख १६ गते १२ जना, वैशाख १७ गते ४ जना, वैशाख १८ गते १० जना, वैशाख १९ गते १२ जना, वैशाख २० गते १४ जना, वैशाख २१ गते ८ जना, वैशाख २२ गते ११ जना, वैशाख २३ गते १७ जना, वैशाख २४ गते १३ जना, वैशाख २५ गते १५ जना संक्रमितको मृत्यु भएको तथ्यांक स्वास्थ्य निर्देशनालयको रहेको छ । यस्तै वैशाख २६ गते १८ जना, वैशाख २७ गते १७ जना, वैशाख २९ गते १४ जना, वैशाख ३० गते १७ जना र वैशाख ३१ गते ३० जनाको मृत्यु भएको छ ।

स्थानीय प्रशासनहरुले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि निषेधाज्ञा लागू गरिएका बेला संक्रमण तीव्र गतिमा फैलिनुमा सीमा नाका प्रमुख कारक भएको चिकित्सकहरुले बताएका छन् । सामाजिक विकास मन्त्रालयका अस्पताल विकास तथा चिकित्सा महाशाखा प्रमुख समेत रहेका फ्याम्ली फिजिसियन डा जगदीश जोशी सुदूरपश्चिममा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिनुको प्रमुख कारण अव्यवस्थित सीमा नाका नै भएको बताउनुभयो ।

उहाँले भारतबाट फर्किनेहरुलाई होल्डिङ सेन्टरमा राख्दै अनिवार्य स्वास्थ्य परीक्षण गरी संक्रमितलाई छुट्याएर सम्बन्धित स्थानीय तहको जिम्मा लगाएर आइसोलेसन र क्वारेन्टाइनमा व्यवस्थापन गर्नुपर्ने दायित्वबाट सम्बन्धित निकाय चुक्दा यस्तो अवस्था सिर्जना भएको सुनाउनुभयो ।

पछिल्लो पटक भारतमा युके भेरियन्ट, ब्राजिलियन भेरियन्ट लगायतका विभिन्न प्रकारका भाइरसहरु देखिएकाले सुदूरपश्चिममा पनि सोही खालको संक्रमण धेरै फैलिसकेको उहाँको भनाइ छ , ‘अहिले भारतबाट भित्रिएको भाइरस निकै शक्तिशाली छ । त्यहाँ विभिन्न प्रजातिका भाइरस देखा परेका छन्,’ जोशीले भन्नुभयो- ‘भाइरस आफंैमा शक्तिशाली भएकाले फैलावट पनि तीव्र बनेको छ ।’

कोरोना भाइरसबाट संक्रमित भएर ज्यान गुमाउनेको संख्यामा बृद्धि हुनुमा मुख्य दुईवटा समस्या रहेको डा जोशीकाृ भनाइ छ । सेती प्रादेशिक अस्पतालको इमर्जेन्सी वार्ड इन्चार्ज समेत रहेको जोशीले कोरोनाले सबैभन्दा धेरै फोक्सोमा आक्रमण गर्ने गरेको भन्दै अहिले मानिस अन्तिम अवस्थामा मात्र अस्पताल आउँदा मृत्युदर ह्वात्तै बढेको बताउनुभयो । ।

  • १ जेष्ठ २०७८, शनिबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech