अक्सिजन वितरणमा समस्या देखिएको भन्दै मन्त्रालय आफैले लियो वितरणको जिम्मा

    • स्वास्थ्य पेज

  • ३१ बैशाख २०७८, शुक्रबार

काठमाडौं: अक्सिजन वितरणमा समस्या देखिएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वितरणको जिम्मा आफैं लिने निर्णय गरेको छ।अक्सिजन वितरणलाई सहज र प्रभावकारी बनाउन सिसीएमसीभन्दा मन्त्रालयलाई बढी थाहा हुने भएकाले वितरणको जिम्मा आफैं लिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताउनुभयो ।

थप अक्सिजन उत्पादनका लागि उद्योगहरूलाई प्रोत्साहन गर्ने, बिग्रिएका उद्योगलाई बनाउने तथा थोरै समय चल्ने उद्योगलाई धेरै समय चलाउने जस्ता काम अब मन्त्रालयकै समन्वयमा हुने उहाँले बताउनुभयो ।

सिसीएमसीले कोटा प्रणाली अनुसार अक्सिजन वितरणको समन्वय गर्दै आएको थियो। तर धेरै अस्पतालले अक्सिजन अभाव भएको भन्दै बिरामी भर्ना लिन नसक्ने सूचना निकालेका थिए ।

गौतमले अब दैनिक अस्पतालहरूमा बिरामीको संख्या हरेर कुन अस्पताललाई कति अक्सिजन दिने भनेर कोटा तोकिने बताउनुभयो । यसैबिच मन्त्रालयले सबै अक्सिजन उत्पादक उद्योगहरुलाई सम्बोधन गर्दै अस्पतालहरुमा साविककै नियमित ढुवानी प्रक्रियाबाट अक्सिजन उपलब्ध गराउन निर्देशन दिएको छ ।

सिसिएमसीले स्वास्थ्य मन्त्रालयलाई नै जिम्मेवारी दिएपछि अक्सिजन वितरण व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयले उच्चस्तरीय टोली समेत गठन गरेको छ।

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech