सर्पदंशका विरामीलाई भेरीमा होइन् अव खजुरा क्यान्सर अस्पताल लैजानुहोस् !

    • स्वास्थ्य पेज

  • ३१ बैशाख २०७८, शुक्रबार

नेपालगन्जः बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा सर्पदंशका विरामीको उपचार सुरु भएको छ । कोभिड महामारीका कारण भेरी अस्पतालमा सर्पदंशका विरामीहरुको उपचार असहज भएपछि क्यान्सर अस्पताल खजुरामा सर्पदंशका विरामीको उपचार सेवा पनि सुरु गरिएको हो ।

भेरी अस्पतालका एनेस्थेसियोलोजिष्ट डा पारश पाण्डेका अनुसार, कोभिड महामारीका कारण बेड अभाव हुँदा सर्पदंशका विरामीलाई भेरीबाट खजुरा रिफर गरेर उपचार सेवा दिन थालिएको छ । ‘सर्पदंशका विरामीलाई बचाउन सकिन्छ डा पाण्डेले भन्नुभयो–‘तर हामीसँग इमरजेन्सी, आईसीयूलगायतका सबै प्याक छ, कसरी उपचार गर्ने ? त्यही भएर खजुरा क्यान्सर अस्पतालसँगको सहकार्यपछि सर्पदंशका विरामीलाई भेरीमा प्राथमिक उपचार दिएर खजुरा रिफर गरिरहेका छौं ।’

उहाँले सर्पदंशका विरामीलाई भेरीमा ल्याउनुभन्दा खजुरा लैजान आग्रह पनि गर्नुभयो। कोभिडको उच्च जोखिम, जनशक्ति तथा अक्सिजन अभावलगायतका कारण सर्पदंशका विरामी भेरीमा जानु भन्दा खजुरामा आउन उपयुक्त हुने खजुरा क्यान्सर अस्पतालका निर्देशक डा कृष्ण आचार्यले जानकारी दिनुभयो ।

अहिले खजुरा क्यान्सर अस्पतालमा तीनजना सर्पदंशका विरामीको उपचार भइरहेको पनि उहाँले बताउनुभयो । चारजना भर्ना भएका मध्ये एकजना डिस्चार्ज भएर घर फर्किसकेका छन्। क्यान्सर अस्पतालमा तीन जना विषालु सर्पले टोकेका व्यक्ति भर्ना भएका थिए । अहिले उनीहरुको अवस्थामा सुधार भइरहेको छ ।

गर्मीयाम सुरु भएसँगै सर्पदंशको जोखिम पनि बढेको छ । एनेस्थेसियोलोजिष्ट समेत रहनु भएका डा आचार्य र फिजिसियन डा कृष्टिना नामुक श्रेष्ठलगायतको टोली सर्पदंशका विरामीको उपचारमा खटिएको छ । डा आचार्यले सर्पदंशका सबै खाले विरामीलाई क्यान्सर अस्पतालबाट सेवा दिन सकिने बताउनुभयो ।

  • ३१ बैशाख २०७८, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech