चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै अस्पताल तोडफोड, दुईजना पक्राउ

    • स्वास्थ्य पेज

  • २९ बैशाख २०७८, बुधबार

जनकपुर: कोभिड–१९ विशेष अस्पताल जनकपुरमा चिकित्सकको लापरबाहीका कारण एक कोरोना संक्रमितको मृत्यु भएको आरोप परिवारले लगाएका छन् ।

लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै उनका आफन्तले प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गतको कोरोना अस्पतालभित्र तोडफोड गरेका छन् ।महोत्तरीको जलेश्वर अस्पतालमा उपचार गराइरहेका जलेश्वर नगरपालिका ४ बस्ने ५५ वर्षीय सुखीचन महतोलाई श्वासप्रश्वासमा समस्या भएपछि प्रादेशिक अस्पताल जनकपुरको कोरोना अस्पताल ल्याइएको थियो ।

उपचारमा स्वास्थ्यकर्मीहरुले चासो नदिदा बुवाको मृत्यु भएको भन्दै मृतकका छोराहरू वर्ष ३४ का मनोज महतो र वर्ष २७ का पप्पु महतोले अस्पतालका उपकरण तोडफोड गर्दै चिकित्सकमाथि हातपात गरेको धनुषा प्रहरी कार्यालयका प्रवक्ता मकेन्द्र कुमार मिश्रले बताउनुभयो ।

प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रमोद यादवले स्वास्थ्यकर्मीलाई हातपात गर्दै आइसियू कक्षमा तोडफोड गरेको बताउनुभयो। तोडफोडबाट आइसियू कक्षका ३ वटा भेन्टिलेटरमा क्षति पुगेको डा.यादवको भनाइ छ ।

उहाँले चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको आरोप गलत रहेको जिकिर गर्नुभयो । तोडफोड गर्ने दाजुभाइलाई नियन्त्रणमा लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको प्रहरी प्रवक्ता मिश्रले बताउनुभएको छ ।

  • २९ बैशाख २०७८, बुधबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech