महामारीले पनि महिलालाई नै सताउँछ

    • स्वास्थ्य पेज

  • १० श्रावण २०७७, शनिबार

शोभा ज्ञवाली,

यतिबेला सिंगो विश्व कोरोना भाइरसका कारण पीडित छ। शिक्षालय बन्द छन्। उद्योग÷व्यवसाय बन्द छ। मनोरञ्जनस्थलहरू खुला छैनन्। हिँडडुलमा प्रतिबन्ध छ। कमाइ खाने ठाउँहरू शून्य छन्। यसैले कोेरोनाको प्रभाव सर्वव्यापी बनेको छ। यसर्थ यसको प्रभावबाट कोही पनि अछूत छैन। सबै सताइएका छन् तर यसमा पनि महिला विशेष प्रताडित छन्।

समस्या घरभित्रकै

एक जना परिचित छिमेकी आइन्। उनको गुनासो थियो– घरमा काम गरेरै भ्याइएन, लौन के गर्ने होला ? बेलिबिस्तार लगाइन्– बिहान उठ्नेबित्तिकै छोरा÷छोरी, सासू÷ससुरा, श्रीमान् सबैका लागि पानीदेखि कालो हुँदै सेतोसम्म चिया तयार पार्नुपर्ने। त्यो सक्दा नसक्दै नास्ताको व्यवस्था गर्नुपर्ने। त्यो नसकिँदै खानपिनको व्यवस्था गर्नुपर्ने। भाँडाकुँडा सफा गरेर आराम गर्न नपाउँदै खाजा तयार पार्नुपर्ने। त्यसको लगत्तै बेलुकाको खाना तयार पार्नुपर्ने। कपडा धुने, बडारकुँडार त बीचबीचमा गर्नैप¥यो। यसरी बिहान ५ बजे सुरु हुने उनको काम रातको १० बज्दा पनि सकिँदोरहेनछ।

घरका अन्य सदस्य कसैले पनि नसघाउने। श्रीमान् टेलिभिजको रिमोट थिचेरै अर्डरमात्र गरिरहने। छोरा÷छोरीलाई खाएर आइप्याड÷ल्यापटपमा बसिदेऊ भनेर अनुरोध गर्दा गर्दा हैरान होइने। सासू÷ससुराको आफ्नैखाले लोसेपन र फर्माइस उस्तै। उनको कुरा सुन्दा लाग्थ्यो, उनी रेस्टुरेन्टको मसाल्ची र वेटरभन्दा पनि बढी व्यस्त रहन्छिन्।

हुन त उनले अघि–पछि पनि यस्तो काम नगरेकी हैनन् तर कोरोना सिर्जित लकडाउनपछि भने बढी सताइएकी रहिछन्। श्रीमान्को अफिस बिदा भएकाले घरमै। विद्यालय बन्द भएकाले छोरा÷छोरी पनि घरमै। उनले सोचेकी थिइन्– सबै जना घरमै भएकाले आफूलाई पनि केही सघाउलान् र सहज होला भनेर। तर सोच उल्टो भयो– सबै अर्डरमात्र गर्ने। सिन्को कोही नभाँच्ने। उनको निष्कर्ष थियो– म त थकान र दिक्दारीले आफूलाई नियन्त्रण नै गर्न नसकिने पो हो कि भन्ने चिन्तामा डुब्न थालेँ। केही सुझाव दिनुप¥यो। लाग्छ– यो दिनचर्या मेरी ती गुनासोवाला छिमेकीको मात्र नभई अधिकांश नेपाली महिलाको हो।

क्वारेन्टिनको हालत

कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि यसलाई नियन्त्रण गर्न सरकारले ठाउँठाउँमा क्वारेन्टिनको व्यवस्था ग¥यो। यसरी क्वारेन्टिन व्यवस्था गर्नु ठीकै थियो तर त्यहाँ महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति आदिका सवालमा विशेष सतर्कता अपनाइनुपथ्र्यो। त्यसमा भने सरकार चुक्यो। जसको मार यी सबैमाथि प-यो भने त्यसमध्ये पनि सबैभन्दा बढी महिला नै प्रभावित बन्न पुगे।

सोच नै गलत भएपछि महिलामैत्री संरचना बनोस् पनि कसरी ? त्यसैले अहिले महिलाले भोगिरहेका समस्याको मुख्य कारण धेरैजसो मानिसका दिमागमा विद्यमान गलत सोच र संरचना नै हो भन्नेमा द्विविधा छैन।  

क्वारेन्टिनमा राखिएका सर्वसाधारणले खान नपाउने, सुत्न र बसोबास गर्न सहज नभएको जस्ता घटना त सामान्य नै देखिए। त्यसबाहेक महिलामाथि हिंसाका घटना पनि सार्वजनिक भए। लम्कीचुवा क्वारेन्टिनमा त गत जेठ ३२ गते राति सुतिरहेकी एक महिलालाई स्वास्थ्यकर्मी, रेखदेखका लागि खटाइएका स्वयंसेवकलगायत चार जनाले सामूहिक बलात्कार नै गरे।

क्वारेन्टिनभित्र भएका यस्ता छिटपुट घटना बाहिर आए पनि धेरैजसो घटना गुपचूप पारिएको छ। यस्ता घटना मिलाउन कतिपय स्थानमा त जनप्रतिनिधि नै अग्रसर देखिनु झन् दुखद् छ। कुटपिट, दुव्र्यवहार आदिको त हिसाबकिताब नै छैन।

स्वास्थ्योपचारमा पनि पक्षपात

एकातिर गाउँका स्वास्थ्य केन्द्रमा पिपिइलगायत सामग्री नभएको जनाउँदै स्वास्थ्यकर्मी नै बसेनन्। अर्कोतर्फ ढुवानी व्यवस्था नहुँदा औषधिजन्य सामग्री पनि पुगेन। खासगरी गर्भवती÷सुत्केरी महिलाका लागि आवश्यक आइरन चक्की जस्ता सामान्य औषधिसमेत उपलब्ध हुन सकेन। बर्थिङ सेन्टरसमेत प्रभावित हुँदा ग्रामीण महिलामा प्रत्यक्ष असर प¥यो।

देहातको के कुरा, राजधानी र त्यसमा पनि सरकारी अस्पतालसमेत महिलाप्रति कठोर बने। कोरोना उपचार गर्ने अस्पतालमा कार्यरत भएको भन्दै थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका चिकित्सकले रक्तश्राव भई उपचारका लागि पुगेकी गर्भवती नर्सलाई उपचार नगरी फर्काए। समयमा उपचार नभएपछि पहिलो गर्भ खेर जान सक्ने जोखिम बढेको ती नर्सले गुनासो गरिन्।

स्वास्थ्य मन्त्रालय, परिवार कल्याण महाशाखाकै अनुसार पनि लकडाउन सुरु भएपछि अढाइ महिनामा देशभर ३३ जना गर्भवती र सुत्केरीले ज्यान गुमाएका छन्। २५० भ्रुण तथा नवजात शिशुको मृत्यु भएको छ। यसबाट पनि कोरोना भाइरस सिर्जित लकडाउन महिलाका लागि कति खतराको सूचक बनिरहेको छ भन्ने प्रस्ट हुन्छ। अर्कोतर्फ मानव अधिकार आयोगले नै क्वारेन्टिन महिला, बालबालिका, गर्भवती, सुत्केरी आदिलाई विशेष ध्यान दिनुपर्नेलगायतका व्यवस्था हुनुपर्नेमा महिला, बालबालिकामैत्री भएको पाइएन भनेर धारणा सार्वजनिक गर्नुले पनि महिलाको बिजोग थाहा पाइन्छ।

कुरा अन्य हिंसाको  

मानव अधिकार क्षेत्रमा कार्यरत इन्सेकका अनुसार बन्दाबन्दीपछि ५४ दिनमा ५ सय २ जना महिला र बालबालिका हिंसाबाट पीडित भए। बन्दाबन्दी सुरु भएको ११ चैतदेखि ३ जेठसम्म ६४ जना महिलामाथि बलात्कारका घटना भएका उसले जनाएको छ। साथै यौन दुव्र्यवहारका घटनामा ४६ जना बालिका पीडित भएका पनि उल्लेख गरेको छ।

उता नेपाली कङ्ग्रेसको भगिनी सङ्गठन नेपाल महिला सङ्घले लकडाउनको अवधिमा क्वारेन्टिनभित्र १ हजार ६ सय ८४ जना महिलामाथि हिंसा भएको दाबी गरेको छ। र, अझ कतिपय घटना त बाहिरै नआइ गुपचूप पारिएको धारणासमेत विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ।

यी सबै घटनाले पुष्टि गर्छन् कि कोरोना सिर्जित संक्रमण र यसले निम्त्याएको लकडाउन सबैका लागि कष्टकर भए पनि महिलाका लागि भने बढी नै पीडादायीरूपमा प्रस्तुत भयो। यस्ता महामारीका बेला महिला र बालबालिकालाई थप सुरक्षित तुल्याउन तथा उनीहरूका अधिकार हनन हुनबाट बचाउन सम्बन्धित निकायहरूले गरेका आग्रह हाम्रा सन्दर्भमा प्रभावी भएनन्। त्यसैले कोरोना महामारीको चौतर्फी मार भोग्न महिला विवश भए।

अभाव महिलामैत्री सोच र संरचनाको

महामारीका कारण महिलालाई बढी असर परेको कुरा गर्दा सहजै भन्ने गरिन्छ– असर सबैलाई छ। तर यहाँ बुझ्न नखोजिएको कुराचाहिँ के हो भने महिलासँग जोडिएका प्रजननलगायत गतिविधिका कारण उनीहरूका लागि थप व्यवस्था आवश्यक छ। जस्तो– फरक र व्यवस्थित शौचालय, आराम कक्ष, स्तनपान कक्ष, महिनावारीका बेला विशेष सरसफाइ र हेरचाह, गर्भवती र सुत्केरी अवस्थामा थप प्रबन्ध जस्ता अत्यावश्यक विषयमा सोच्दै सोचिन्न। अनि सहजै भनिन्छ– सबैलाई उस्तै समस्या हो।

यही सोचकै कारण हो कि महिला थप प्रताडित छन्। र, अझ महामारीका बेला त झनै सताइने गरिन्छन्। रक्तस्राव भएर आएकी महिलालाई पनि उपचार नगराइ फर्काइनु, बलात्कार गरिनु, यौन हिंसामा पारिनु यिनै गलत सोचका परिणाम हुन्। अनि सोच नै गलत भएपछि महिलामैत्री संरचना बनोस् पनि कसरी ? त्यसैले अहिले महिलाले भोगिरहेका समस्याको मुख्य कारण धेरैजसो मानिसका दिमागमा विद्यमान गलत सोच र संरचनाको फ्युजन नै हो भन्नेमा द्विविधा छैन।

अहिले हामीले अंगालिरहेको यो गलत सोच र संरचनाकै कारण धेरैले दुःख पाइरहेका छन्। अझ डरलाग्दो अवस्था त यो छ कि त्यस्तो दुःख चाँडै सकिनेवाला छैन। जस्तो– कामको खोजीमा भारत गएका धनुषाका वीरेन्द्र गोडवैताको फर्कने क्रममा नेपाल–भारत सीमामै मृत्यु भयो। उनी त मरिगए, उनकी श्रीमती २६ वर्षीया सवितादेवी यादव भने न मर्न सक्छिन् न त ३ वर्षको छोरा र ६ महिनाकी छोरी हुर्काउने कुनै उपाय नै छ। यसरी बाँचेरै पनि पल–पल मर्न बाध्य सवितादेवीहरूको दुःखको मुहान भत्काउने आँट नगरुन्जेल महिलाले दुःख पाइरहनुपर्ने अवस्था जीवितै रहने पक्का छ।

साभार नागरिक दैनिक


Nabintech