कोरोना महामारीमा गर्भवतीलाई कस्तो स्वास्थ्य सेवा?

    • स्वास्थ्य पेज

  • ९ श्रावण २०७७, शुक्रबार

प्रकृति सापकोटा,

कोरोना भाइरस संक्रमितको संख्या दिनानुदिन बढेसँगै गर्भवती महिलामा आफू तथा गर्भमा रहेको शिशुलाई संक्रमण सर्ने सन्त्रास बढिरहेको छ। अहिलेसम्म कोरोना भाइरसमा भएका अनुसन्धान हेर्दा गर्भवती महिलामा संक्रमण जोखिम अरू वयस्क मानिसमा जस्तै छ। श्वासप्रश्वासबाट सर्ने इन्फ्लुएन्जा भाइरस जस्तै कोरोना संक्रमण हुने दर कम भए पनि संक्रमण भइसकेपछि चाहिँ कडा खालको लक्षण देखाउने, बिरामी हुने र मृत्यु हुने दर बढी छ।

गर्भमा रहेको बच्चामा कोरोनाले गर्दा मात्रै नकारात्मक असर नदेखिने अनुसन्धानले देखाएको छ । विशेषगरी ३५ वर्षभन्दा बढीका महिला, मोटोपन भएका, दीर्घरोगी, उच्च रक्तचाप, मधुमेह, किड्नीका बिरामी उच्च जोखिममा हुन्छन् र कोरोना संक्रमण भएको खण्डमा उनीहरूलाई जटिल समस्या देखिन सक्छ।

नेपाल सरकार र संयुक्त राष्ट्रसंघ नेपालले तयार पारेको कोभिड १९ नेपाल प्रिप्रेडनेस एन्ड रेस्पोन्स प्लान (एपिआरपी) मा कोरोनाको शंका गरिएका वा पुष्टि भएका गर्भवती महिलालाई सुरक्षित मातृत्व सेवा, मानसिक स्वास्थ्य र मनोसामाजिक सहायता प्रदान गर्नुपर्ने उल्लेख गरिएको छ। उच्च मातृ मृत्युदर (२३९/१लाख ) र कमजोर स्वास्थ्य प्रणाली भएको नेपाल जस्तो देशमा महामारीले महिला स्वास्थ्य थप धराशायी बनाउने हुँदा प्रजनन् स्वास्थ्य, मातृ, नवजात शिशु तथा बालस्वास्थ्य सेवा र सामग्री पर्याप्त र उपलब्ध हुनुपर्छ भनिएको छ।

साथै श्वासप्रश्वाससम्बन्धी समस्या भएका गर्भवती महिलामा आमा र बच्चामा जटिलता आउनसक्छ भनेर उच्च प्राथमिकतामा राखेर उपचार गर्नुपर्छ भनिएको छ।नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीका समयमा प्रजनन, मातृ, नवजात शिशु तथा बाल स्वास्थ्यका लागि अन्तरिम मार्गनिर्देशन बनाएको छ। यसमा स्वास्थ सेवा संस्था तथा सेवाप्रदायकका लागि मार्गदर्शन दिइएको छ, जसले गर्भवती महिलालाई निम्न अनुसार सेवा सुनिश्चित गरेको छ :

– सबै स्वास्थ्य चौकी, प्राथमिक स्वास्थ्य सेवा केन्द्र, अस्पताल तथा गैरसरकारी संस्थामार्फत संचालित स्वास्थ्य सेवा केन्द्रले गर्भवती जाँच सेवा, प्रसूति सेवा, प्रदान गर्ने।

– सबै महिलालाई मर्यादित मातृ स्वास्थ्य सेवा प्रदान गर्ने।

– नेपाल सरकार तथा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार भौतिक दूरी तथा व्यक्तिगत स्वास्थ्य सुरक्षाका उपाय अवलम्वन गर्दै प्रजनन्, मातृ, नवजात शिशु तथा बाल स्वास्थ्य सेवामा सबैको पहुँच सुनिश्चित गर्ने।

– मातृ तथा नवजात शिशु स्वास्थ्य सेवा प्रदायकहरूले टेली स्वास्थ्य सेवामार्फत् गर्भवती सेवा तथा परामर्श प्रदान गर्ने र आवश्यकताअनुसार गर्भवती महिलालाई स्वास्थ्य संस्थामा आउन सुझाव दिने।

– सबै स्वास्थ्य केन्द्रहरूले कोभिड–१९ को लक्षण नदेखिएका महिलालाई नियमित रूपमा प्रसूति सेवा (सि–सेक्सन, जटिलता व्यवस्थापन आदि) प्रदान गर्ने।

– कोभिड–१९को लक्षण देखिएकालाई समेत प्रेषण गर्न (पठाउने काम) सम्भव नभएमा सम्बन्धित स्वास्थ्य केन्द्रहरूले नै नियमित रूपमा प्रसूति सेवा प्रदान गर्न तयारी अवस्थामा रहने।

– गर्भावस्था तथा प्रसूतिसम्बन्धी समस्या परेमा महिलाका लागि हेल्पलाइन सेवा उपलब्ध गर्ने।

– प्रेषण सेवाका लागि यातायातको व्यवस्था तथा सहयोग र निःशुल्क एम्बुलेन्स सेवाको सुनिश्चितता गर्ने।

– महिला तथा नवजात शिशुका लागि टेली स्वास्थ्य सेवा (टेली एएनसी र टेली पिएनसी सेवा) उपलब्ध गर्ने।

–मातृ तथा नवजात शिशु स्वास्थ्य सेवाप्रदायकले सबै गर्भवती महिलालाई टेलिफोनमार्फत सम्पर्क गरी स्वास्थ्य अवस्थाका प्रश्न सोध्ने र सल्लाह दिने।

गर्भवती महिला र आवश्यकताअनुसार परिवारका सदस्यलाई निम्न विषयमा सल्लाह दिने–

– सरसफाइ तथा स्वस्थ खानेकुरा खाने बानी (गर्भावस्थामा साबिकभन्दा एकपल्ट बढी खाने) सहित गर्भावस्थामा गरिनुपर्ने हेरचाह।

– कोभिड–१९ सँग सम्बन्धित भौतिक दूरी तथा हातको सरसफाइ, खोकी-हाछ्युँ गर्दा अपनाउनुपर्ने सावधानीका विषयमा सल्लाह दिने।

–निज महिला वा उनका परिवारका सदस्यलाई कोभिड–१९ को लक्षण देखा परेमा कहाँ सम्पर्क गर्ने भन्ने विषयमा जानकारी दिने।

–नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा आउनुपर्ने अवस्थाहरूका बारेमा जानकारी दिने।

– खतराका चिन्हका बारेमा (गर्भावस्थाका सामान्य खतराका चिन्हहरू तथा कोभिड–१९ का चिन्ह तथा लक्षणका बारेमा जानकारी दिने।

– गर्भवती महिलाको स्वास्थ्य परीक्षण गर्न छुट्टै कोठा तथा उपकरणको प्रयोग गर्ने।

–आपतकालीन अवस्थाका लागि महिलालाई सेवा प्रदायकहरूको सम्पर्क नम्बर वा हेल्पलाइनको सम्पर्क नम्बर उपलपब्ध गराउने।

– यदि महिलालाई प्रसूति गराउन स्वास्थ्य संस्था/अस्पतालसम्म आउन गाह्रो हुने भएमा गर्भ बसेको आठौँ महिना वा सोभन्दा अघि मिसोप्रोस्टल (तीन चक्की) र नाभि मलम (क्लोरोहेक्सिडिन) र सफा/सुरक्षित सुत्केरी किट उपलब्ध गराउने । सकेसम्म प्रसूति गराउनको लागि स्वास्थ्य संस्थामा नै आउनु पर्ने कुराको जानकारी दिने।

– यदि महिलामा कोभिड–१९को लक्षण देखिएमा निज महिलालाई आफ्नो स्वास्थ्य संस्था वा अस्पतालमा नबोलाई कोभिड–१९ क्लिनिक वा अस्पतालमा पठाउने। पठाउन सम्भव नभएको अवस्थामा पिपिईको निर्देशिकाको पालना गर्दै त्यहींबाट सेवा दिने व्यवस्था मिलाउने।

– ‘हेल्पलाइन’ सम्पर्क नम्बर कसरी र कतिबेला प्रयोग गन जानकारी दिने, हेल्पलाइनको नम्बर र स्वास्थ्य प्रदानयको सम्पर्क नम्बर उपलब्ध गराउने।

– कोभिड–१९का लक्षण भएका महिलाले सिधै नजिकैको कोभिड–१९का लागि तोकिएका दोस्रो वा तेस्रो तहको अस्पतालमा सम्पर्क राख्ने।

प्रसूति सेवा :

– कोभिड–१९ संक्रमणको शंका लागेका वा पुष्टि भएकाका लागि छुट्टै प्रसूति कक्षको व्यवस्था मिलाउने।

– यदि छुट्टै प्रसूति कक्ष उपलब्ध नभएमा, भौतिक दूरी कायम गरेर शैय्याको व्यवस्था मिलाउने।

– कोभिड–१९को आशंका वा पुष्टि भएकाका लागि मास्क उपलब्ध गराउने र श्वासप्रश्वास सम्बन्धी सरसफाइ र हात धुने विषयमा जानकारी उपलब्ध गराउने।

– यदि कुनै लक्षण नभएमा, नियमित/साबिकको प्रक्रियाअनुरुप नै प्रसवकक्ष-वार्डमा भर्ना गर्ने र प्रसूति सेवा प्रदान गर्ने।

  • ९ श्रावण २०७७, शुक्रबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech