वर्षायाममा बालबालिकालाई देखिने स्वास्थ्य समस्या र बच्ने उपाय

    • स्वास्थ्य पेज

  • ८ श्रावण २०७७, बिहीबार

निर्देशक डा. कृष्ण पौडल

कान्ति बालअस्पताल,

वर्षायाममा पानीका श्रोतहरु बिग्रन सक्ने सम्भावना प्रवल रहन्छ । पानीको उपलब्धता बढी हुने र पानी जम्ने हुँदा लामखुट्टे जन्मन्छन् । लामखुट्टेको कारणले हुने मलेरिया, तराईका विभिन्न ठाउँमा भुसुनाले हुने कालाजार हुन्छ । यस्तै लामखुट्टेले हुने डेंगी लाग्ने सम्भावना उत्तिकै हुन्छ । खानेपानी फोहोर भयो भने जसका कारण बालबालिकालाई मात्रै नभई ठूलालाई पनि विभिन्न रोगहरु लाग्ने सम्भावना हुन्छ ।

खानेपानी फोहोर भएकै कारण झाडापखाला, आउँ, जण्डिसजस्ता रोग देखा पर्दछन् । फोहोर पानीमा हेपाटाइटिस गराउने भाइरसहरु पुगे भने वा पानीको मुहानमा कुनै व्यक्तिले दिशा ग¥यो भने पनि यस्ता रोग देखापर्दछन् । त्यसैले सरसफाई गर्नेदेखि सफा पानी पिउने कुरामा पनि हामीले विशेष ध्यान दिनुपर्छ । घरवरिपरी सफा गर्ने, खाली भाँडाहरु नराख्ने, टायरहरु नराख्ने गर्नुपर्छ । टायरहरु छन् भने त्यहाँ पनि लामखुट्टे जन्मन्छ ।

खुला रहेका ट्याङ्की तथा जमेको पानीबाट पनि डेंगी हुने सम्भावना उच्च रहन्छ । भूक्षयले पनि वर्षायाममा विभिन्न किसिमका रोगहरु ल्याउन सक्ने सम्भावनाहरु रहन्छ । त्यसैले सुरक्षित स्थानमा बस्नुपर्दछ । बाढी आएर पनि कतिपय रोगहरु फैलिरहेको हुन्छन् । तराईमा बाढी र डुबानले गर्दा त्यहाँ झनै बढी स्वास्थ्य समस्या देखिन्छन् । वर्षायाममा साना–साना बच्चाहरु डुबानमा पर्ने सम्भावना पनि हुन्छ । त्यसतर्फ सचेत हुनुपर्दछ ।

स्तनपान गरिरहेका बालबालिकालाई नियमित स्तनपान गराउनुपर्दछ । त्यो भन्दा बढी उमेरका बालबालिकालाई थप ठोस आहारा दिनुपर्दछ । पोषणमा कमी हुन दिनु हुँदैन । यति हुँदाहुँदै पनि बालबालिकालाई ज्वरो आएको छ भने जचाउँन लैजानुपर्छ । फेरि यहि बेला कोरोनाको महामारी रहेको छ । बाढीका कारणले विस्थापित भएका छौँ भने धेरै सतर्कता अपनाउनुपर्छ । विद्यालय, सार्वजनिक भवनमा बसेका छौँ भने पनि त्यहाँ सामाजिक दुरी र सरसफाइको महत्वमा ध्यान दिनुपर्छ ।

भिडभाड हुने स्थानमा जानै हुँदैन । खेतीपातीमा जाँदा तथा अन्य काम गर्दा पनि सावधानी अपनाउनुपर्छ । कोभिडको हकमा अविभावक तथा केयर टेकरबाट ६० प्रतिशत सरेको हुनाले थप सचेत हुनैपर्छ । १८ वर्षमुनिका करिव १६ प्रतिशत बालबालिकाहरु कोरोना पोजेटिभ आएको छ । त्यो पनि ठूलै तथ्याङ्क हो । पहिले चाहिँ १८ वर्ष मुनिका बच्चा २ हजार ५७१ जना पोजेटिभ रहेका थिए । अर्थात १६ दशमलब १ प्रतिशत हुन आउँछ । यतिखेर बालबालिकामा छालाको समस्या पनि देखिन्छ ।

स्वासप्रश्वास सम्बन्धी बिरामी पनि हुन सक्छन् । त्यसका लागि बच्चालाई लक्षण देखिएको छ भने छिटो देखाउनुपर्छ । पोषणमा ध्यान दिनुपर्छ । वातावरणीय सरसफाइमा विशेष ध्यान दिनुपर्छ ।

 

  • ८ श्रावण २०७७, बिहीबार प्रकाशित

  • स्वास्थ्य पेजमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ ।

    -स्वास्थ्य पेज

    Nabintech